सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।
महरालाई आज बिहान रुपन्देहीबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागिएको केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले जानकारी दिए।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख कुबेर कडायतले भैरहवाबाट उनलाई काठमाडौं पठाउन लागेको पुष्टि गर्दै भने, ‘अहिले काठमाडौं पठाउने तयारीमा छौं।’
महरालाई आजै जिल्ला अदालत पेस गर्ने प्रहरीको तयारी छ।
आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए। त्यही अनुसार प्रहरीले सक्रियता बढाएको छ। हिजो मात्र , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेका एआइजी श्यामलाल ज्ञवालीले सुन तस्करी प्रकरणको पुरक अनुसन्धान गर्ने जनाएका थिए।
सुन तस्करी सम्बन्धी छानबिन आयोगको सिफारिसका आधारमा अनुसन्धान गरी पुरक अभियोगपत्र दायर गर्नका लागि महरालाई पक्राउ गरिएको हो। २०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए। ७३ बट्टामा ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो। सो प्रकरणमा महराको ‘कनेक्सन’ देखिएको थियो। तर सीआईबी उनीविरुद्ध मुद्दा नचलाई कागज गराएको छाडेको थियो।
सोही प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका लागि थुनामा छन्। पूर्वसभामुख समेत रहेका महरालाई पनि सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेको थियो।


