रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा ती न उडान हुने भएको छ ।
यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताए। “यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो । आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिनेछ”, उनले भने ।
नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार बिहान काठमाडौँ–रेसुङ्गा–काठमाडौँ उडान गर्दै आएको छ । काठमाडौँ–रेसुङ्गा लागि रु. सात हजार दुई सय ८० र रेसुङ्गा–काठमाडौँ रुटका रु. सात हजार ८० भाडादर निर्धारण गरिएको छ । रेसुङ्गा विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दूरीमा पर्छ ।


