Banijya News

काठमाडौं महानगरको आठ महिनामा खर्च २२ प्रतिशत मात्र

1
1.0K Shares

देशकै केन्द्रभाग काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को आठ महिनामा फागुन मसान्तसम्म २२ प्रतिशत खर्च गरेको छ । गत आवमा ३६ प्रतिशत मात्रै खर्च गरेको काठमाडौंले चालु आवमा कति खर्च गर्नसक्छ त्यो चासोको सर्वसाधारण्मा बढेको देखिन्छ । चालु आवमा ल्याएको २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेटमध्ये फागुन मसान्तसम्म ५ अर्ब ७४ करोड ६१ लाख खर्च गरेको हो । जसअनुसार यो बर्ष भने महमानगरले खर्च केही बढाउने देखिएको छ ।

महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारी धेरै योजनाका काम भइरहेको र भुक्तानी नहुँदा खर्च कम देखिएको बताउँछन् । ‘हाम्रो खर्चको ट्रेन्ड चाहिँ अघिल्लो वर्षजस्तै हो, तर अघिल्लो वर्षभन्दा योपटक महानगरको खर्च प्रतिशत धेरै हुन्छ,’ अधिकारीले भने ।

महानगर वित्त विभाग अनुसार काठमाडौंले आन्तरिक स्रोतबाट खर्च गर्ने गरी छुट्ट्याएको १९ अर्ब ६२ करोड ९५ लाखमध्ये ४ अर्ब २ करोड ४६ लाख मात्रै खर्च गरेको छ । यस्तै संघीय सरकारले दिएको राजस्व बाँडफाँट अनुदानबाट प्राप्त हुने १ अर्ब ५५ करोड ७९ लाखमध्ये ४७ करोड ७ लाख महानगरले खर्च गरेको छ । स्थानीय रूपमा हुने राजस्व बाँडफाँटबाट प्राप्त हुने १० करोडमध्ये महानगरले १ करोड ४९ लाख रुपैयाँ खर्च गर्न सकेको छ ।

महानगरले बागमती प्रदेश सरकारले दिने पूँजीगत ससर्त अनुदान १ करोड २५ लाख अनुमानमध्ये एक पैसा पनि खर्च भएको देखिँदैन । उता, चालु खर्चमा पाउने अनुदान ६१ लाख ४६ हजारमध्ये महानगरले २० लाख ७७ हजार खर्च गरिसकेको छ ।

प्रदेश सरकारले राजस्व बाँडफाँट दिने अनुदानबाट ५० करोड ८० लाखमध्ये काठमाडौं महानगरले ३ करोड मात्रै खर्च गरेको विभागले जनाएको छ । यस्तै प्रदेश सरकारले नै दिने समानीकरण अनुदान ८ करोड ८१ लाखमध्ये महानगरपालिकाले आठ महिनामा २ करोड २ लाख रुपैयाँ खर्च गर्न सकेको छ ।

यस्तै नेपाल सरकारले दिने ससर्त पूँजीगत अनुदान रकम २ करोड ५० लाखमध्ये महानगरले एक पैसा खर्च भएको छैन । तर, सर्सत चालु अनुदानतर्फ प्राप्त हुने १ अर्ब ४५ करोड २९ लाखमध्ये ७९ करोड ९५ लाख खर्च गरिसकेको छ ।

1

Scroll to Top