Banijya News

उद्यम र उद्यमीविरुद्ध ‘राजनीति’ गर्न खोजियो : विनोद चौधरी

1
1.0K Shares

सांसद, कांग्रेस केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरी एउटा उद्यम र उद्यमीविरुद्ध ‘राजनीति’ गर्न खोजिएको गुनासो गरेका हुन् । बाँसबारी जुत्ता कारखानाको जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर फर्किने क्रममा चौधरीले आफूविरुद्ध ‘राजनीतिक स्टन्ट’ गरिएको बताएका हुन् ।

उनले भने, ‘मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरूरुलाई ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बोलाएपछि उद्यमीसमेत रहेको नेता चौधरी आज बिहान सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान दिन पुगेका थिए । बयान दिएर निस्केलगत्तै राज्यले उद्योगीसँग गरेको ब्यवहारको गुनासो गरेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी श्याम ज्ञवालीका अनुसार सरकारी वकिल कार्यालयका अधिकारी र प्रहरीको संयुक्त रोहबरमा बिहानैदेखि चौधरीसँग बयान लिएको हो ।

सीआईबीले बुधबार मात्रै चौधरीबारे छानबिन भइरहेको विषयमा संसद् सचिवालयमा पत्र पठाएको थियो । त्यसको भोलिपल्ट बिहानै सीआईबीले बोलाएपछि चौधरी बयानका लागि सरकारी वकिलको कार्यालय पुगेका हुन् ।

त्यसो त प्रतिनिधि सभा सदस्य विनोद चौधरीले संसद्मा बोल्दै आफू उक्त प्रकरणमा संलग्न नरहेको दाबी गरिसकेका छन् ।

चौधरीले भने, ‘हिजो गोप्य पत्रको नाममा म संसद्‌मै थिएँ। संसद्‌मा हुँदाहुँदै तीन मिनेट भित्र त्यहाँ अनुसन्धानको बारेमा जानकारी गराएको पत्र जुन रुपले देशभर देशभरका सबै सञ्चारमाध्यमहरु रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्ने स्पष्ट भएको स्थिति छ। मैले यो विषयमा कुरा उठ्ने बित्तिकै मेरो भाइमाथिको अनुसन्धान सुरु हुने बित्तिकै दलको बैठकमा आफ्ना संक्षिप्त कुराहरु राखेँ। जुन पब्लिकली बाहिर आए। म माथिको अनुसन्धानको कुरा चल्ने बित्तिकै मैले रोष्टममा उभिएर देशको नीति, निर्माण गर्ने, ऐन कानून बनाउने र सरकारै पनि बनाउने सबैभन्दा महत्वपूर्ण फोरममै निर्वाचित प्रतिनिधि सभाको सदस्यको हैसियतले आफ्ना कुराहरु राखेँ। मलाई यहाँ आउन मौखिक रुपमा जानकारी गराइयो, म एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले म यहाँ सहयोग गर्न उपस्थित भएँ।’

 

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना आरोपमा यसअघि सांसद चौधरीका भाइ तथा सीजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई सीआईबीले माघ १८ मा पक्राउ गरेको थियो ।

अरुणसँगै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको थियो । तर उनीहरू काठमाडौँ जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा भइसकेका छन् ।

गृहमन्त्री रवि लामिछानेले कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउन विनोद चौधरीसहितका आरोपितलाई अनुसन्धानको दायरामा ल्याउन सीआईबीलाई निर्देशन दिएका थिए ।

1

Scroll to Top