प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्गको ’ब्रेक थ्रू’ गरेपछि मुलुक पूर्वाधार निर्माणको नयाँ चरणमा प्रवेश गरेको धारणा सम्बद्ध विज्ञहरुले गरेका छन् ।
यद्यपि सोमबार छिचोलिएको यो सुरुङमार्ग प्रयोगमा आउन भने एक वर्षभन्दा बढी समय लाग्नेछ । यस अगाडिसम्म राज्यको आम जनतासम्म सडक सुविधाको पहुँच पुर्याउने लक्ष्य रहने गरेकामा अब आवागमनलाई छिटो र सहज बनाउने चरणमा प्रवेश गरेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल बताउँछन् । “करिब ९० जनता आफू बसेको ठाउँबाट बढीमा एक घन्टाको दूरीमा सडक भेटछन् भन्ने अध्ययनले देखाएको छ । त्यसैले अब बनेका सडकलाई बलियो र छरितो बनाउने काम सुरु गर्ने समय आइसक्यो”, उनको भनाइ छ ।
नागढुङ्गा सुरुङमार्ग त्यही कामको सुरुआत भएको पनि उनी बताउँछन् किनकि यससँगै अब निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग कुनै बाधा नपरे अबको एक वर्षभित्र छिचोलिन जानकारी पनि उनी दिन्छन् । यसपछि बागलुङस्थित भिरकोटको सुरुङ मार्ग पनि निर्माणका लागि तयारी भइरहेको छ । निर्माणाधीन काठमाडौँ तराई दु्रत मार्गमा चार स्थानमा गरी झन्डै ६ किलोमिटर सुरुङमार्ग निर्माण हुँदैछ ।
त्यसैगरी, बिपी कोइराला राजमार्गको चियाबारी सुरुङ मार्ग पनि छिचोलिने तयारीमा छ । यसरी क्रमशः देशका विभिन्न ठाउँमा सुरुङ मार्गको आवश्यकता महसुस हुन थालेको महानिर्देशक ढकाल बताउँछन् । यद्यपि दुई सय मिटरसम्मका सुरुङ मार्ग सहजै सञ्चालन गर्न सकिने भए पनि त्यसभन्दा लामा सुरुङ मार्ग भने सुरक्षा, अक्सिजन र वातानुकूलन जस्ता धेरै विषय वस्तुको प्रबन्ध मिलाउनुपर्ने भएकाले खर्चिला हुने जानकारी पनि उनले दिए ।
नागढुङ्गा सुरुङ मार्गले पनि करिब यस्तै संवेदनशीलता बोकेको छ । सोमबारको ब्रेक थ्रूपछि खनेर माटो आदि निकाल्ने काम सकिए पनि सवारी साधन पूर्ण रुपमा चल्न झन्डै एक सय जनाको जनशक्तिले निरन्तर काम गर्नुपर्ने परियोजनाको परामर्शदातृ संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइराला बताउँछन् ।
बीचमा अन्य कारणले अवरोध नआएमा आगामी वर्षभित्र यो मार्ग पूर्ण रुपमा सञ्चालन हुने छ । यो सुरुङ मार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ सिस्नेखोलादेखि बलम्बुसम्मको दूरी तीन किलोमिटरले कम हुनेछ । सडकको दूरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङ मार्गको पश्चिमी प्रवेश विन्दुदेखि नागढुङ्गासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई समेत हिसाब गर्दा एक व्यक्तिको झन्डै आधा घन्टा समय बचत हुने देखिएको कोइराला बताउँछन् । साथै यसले यसअघि अनुभव नभएको यातायातका लागि सुरुङ मार्ग बनाउने राष्ट्रिय क्षमता वृद्धि गर्नाका साथै प्रविधि हस्तान्तरणमा समेत सहयोग पुर्याउने कोइराला बताउँछन् । “अब नेपालीले पनि यस्ता सुरुङमार्ग बनाउन सक्छन् भन्ने स्थापित भएको छ”, उनले भने । हाम्रोजस्तो ८५ प्रतिशत पहाडी भूभाग भएको र नदीनालाका कारण कहीँबाट कतै जान उकाली ओराली गर्नुपर्ने र अनगिन्ती घुम्तीबाट गुज्रनुपर्ने बाध्यतालाई सुरुङमार्गले कम गर्न सक्ने उनी बताउन्छन् । “कुनै पनि एक प्रस्थान विन्दुबाट गन्तव्यसम्म सिधा जोड्ने अवसर सुरुङ मार्गले दिन्छ”, उनी थप्छन् । यसबाट बचत हुने समय र इन्धनको हिसाबले त सुरुङ मार्गको फाइदा बहुआयामिक देखिने पनि उनले बताए ।
चार वर्षअघि सुरुङ गर्दा कसरी गर्ने भन्ने अन्योल भए पनि त्यसको अनुभवका आधारमा भविष्यमा नेपालमा थुप्रै सुरुङ बन्ने देखिएको धारणाको उनको छ ।
सुरुङ मार्गको डिजाइनमा संलग्न वरिष्ठ इन्जिनियर डा भोला घिमिरेका अनुसार समग्र देशकै आत्मविश्वास उत्पन्न भएको छ । नेपालीमा अब सुरुङ खनेर विकास गर्ने आँट आएको बताउँछन् ।


