Banijya News

बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

1
1.0K Shares

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि जेठ ११ गते फेरि एकैपटक ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ अर्ब रुपैयाँ झिक्न लागेको हो । जेठमा यो पाँचौँपटक केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो।

तरलता बढेपछि अहिले अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेको छ । जसका कारण राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा झिक्ने क्रम बढाएको छ । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो १२ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ । राष्ट्र बैंकले जेठ महिनामा मात्रै यो समेत गरी पाचौंपटक निक्षेप संकलन गरेको छ ।

यसअघि बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले जेठ ७ गते १० अर्ब रुपैयाँ, जेठ ४ गते ३५ अर्ब रुपैयाँ, जेठ ३ गते ५० अर्ब रुपैयाँ र जेठ १ गते १० अर्ब रुपैयाँ खिचेको थियो।

1

Scroll to Top