Banijya News

अमेरिकामा घरमा खसेको उल्का पिण्ड पृथ्वीभन्दा पुरानो

1
1.5K Shares

अमेरिकाको जर्जिया राज्यको एक घरमा खसेको उल्का पिण्ड वैज्ञानिकहरूले अध्ययन गर्दा यो पृथ्वीभन्दा पुरानो रहेको खुलासा गरेका छन्। यो वस्तु जुन २६ मा दिउँसोको समयमा जर्जियाको विभिन्न भागमा विस्फोट भएको नासाले पुष्टि गरेको हो।

जर्जिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले म्याक्डोनफ सहरको एउटा घरको छानो छेडेर प्रवेश गरेको उक्त उल्का पिण्डको टुक्रा परीक्षण गरेका थिए।

परीक्षणका आधारमा उनीहरूले यो उल्का पिण्डको आयु करिब ४.५६ अर्ब वर्ष भएको अनुमान गरेका छन्, जुन पृथ्वीको उमेरभन्दा करिब २ करोड वर्ष पुरानो हो।

घटना हुँदा जर्जिया र छिमेकी राज्यका सयौँ मानिसहरूले आकाशमा देखिएको आगोको गोलो र ठुलो विस्फोटको आवाज सुनेको बताएका थिए। तीव्र गतिमा यात्रा गरिरहेको उक्त उल्का पिण्ड पृथ्वीमा प्रवेशपछि सानो आकारमा घटे पनि अझै कम्तीमा प्रति सेकेन्ड १ किलोमिटरको गतिमा हेन्री काउन्टीको एक घरको छानो छेडेर भित्र पसेको थियो।

घरमा खसेका टुक्राहरू वैज्ञानिकहरूलाई हस्तान्तरण गरेपछि सूक्ष्म परीक्षणमा यो उल्का पिण्ड कन्ड्राइट प्रकारको भएको पुष्टि भयो — जुन नासाका अनुसार सबैभन्दा धेरै पाइने पत्थरी उल्का पिण्डको प्रकार हो।

घरका मालिकका अनुसार घटना भएको लामो समय बितिसक्दा पनि उनी आफ्नो घर वरिपरि अन्तरिक्षको धुलो भेटिरहेका छन्। ‘म्याक्डोनफ उल्का पिण्ड’ नाम दिइएको यो वस्तु जर्जियामा अहिलेसम्म फेला परेको २७औँ उल्का पिण्ड हो।

जर्जिया विश्वविद्यालयका भूवैज्ञानिक स्कट ह्यारिसका अनुसार, ‘यो प्रकारको उल्का पिण्ड दशकौँमा एकपटक मात्र देखिन्थ्यो, तर पछिल्ला २० वर्षमै धेरै पटक देखिन थालेको छ।’

1

Scroll to Top