Banijya News

बैंकहरूले तिरे ३२ अर्ब रुपैयाँ कर, कसरी सफलभए सबैभन्दा बढी कर तिर्न ?

1
1.4K Shares

गत आर्थिक वर्षमा नेपालका २० वाणिज्य बैंकहरूले सरकारलाई ३२ अर्ब २४ करोड रुपैयाँ कर तिरेका छन् । यो उनीहरूले कमाएको कुल ७१ अर्ब १८ करोड रुपैयाँ नाफाको एक हिस्सा हो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो कर भुक्तानी ११.८२ प्रतिशतले बढी हो । गत वर्ष बैंकहरूले ४९ अर्ब नाफामा २८ अर्ब ८३ करोड रुपैयाँ कर तिरेका थिए । गत वर्ष १४ वटा बैंकले अघिल्लो वर्षभन्दा बढी कर तिरेका छन् भने बाँकी ६ वटाले कम कर बुझाएका छन् । यस वर्ष कुमारी बैंक र नबिल बैंकले ३ अर्बभन्दा बढी कर तिरेका छन् । ८ वटा बैंकले १ अर्बभन्दा बढी कर तिरेका छन् भने बाँकी ८ वटाले करोडमा कर बुझाएका छन् ।

गत वर्ष कुमारी बैंकले सबैभन्दा बढी कर तिरेको छ । यस बैंकले गत आर्थिक वर्षमा २ अर्ब ११ करोड रुपैयाँ मुनाफा कमाउँदा सरकारलाई ३ अर्ब ७५ करोड रुपैयाँ कर तिरेको छ । अघिल्लो वर्ष सोही बैंकले केवल ४६ लाख रुपैयाँ मात्रै नाफा गरेको थियो । नाफा कमाउनेमा पहिलो नम्बरमा रहेको नबिल बैंकले भने ७ अर्ब १२ करोड रुपैयाँ नाफा गर्दा ३ अर्ब ४१ करोड रुपैयाँ कर तिरेको छ । सबैभन्दा कम कर तिर्ने बैंकमा भने नेपाल बैंक रहेको छ, जसले ३ अर्ब ७७ करोड नाफामा २० करोड रुपैयाँ कर तिरेको छ ।

पछिल्लो एक दशकमा बैंकहरूको नाफा र कर भुक्तानी दुवै उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको तथ्यांकअनुसार, एक दशकको अवधिमा बैंकहरूको नाफा १५७ प्रतिशतले बढेको छ भने कर भुक्तानी २२८.२४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा बैंकहरूले २७ अर्ब ६६ करोड नाफामा ९ अर्ब ५२ करोड रुपैयाँ कर तिरेका थिए ।


बैंक तथा वित्तीय संस्थाहरूले आयकरको रूपमा आफ्नो नाफाको ३० प्रतिशत कर तिर्नुपर्छ । बैंकरहरूले विगत एक दशकदेखि यो दरलाई २५ प्रतिशतमा झार्न माग गर्दै आएका छन् । तर, सरकारले यसपटकको बजेटमा पनि बैंकहरूको नाफामा लाग्ने कर यथावत् राखेको छ । बैंकर्स संघले बैंकिङ पहुँच विस्तारका लागि दुर्गम क्षेत्रमा शाखा खोल्दा लागत बढ्ने र खराब कर्जाको समस्याले बैंकहरूलाई दबाब परेको भन्दै करमा छुट दिन माग गरेका छन्। उनीहरूले बैंकहरूलाई मदिरा र सुर्ती कम्पनीजस्तै व्यवहार गरिएको गुनासो गरेका छन्।

निष्क्रिय कर्जामा चुनौती
नाफामा वृद्धि भए पनि बैंकहरूको निष्क्रिय कर्जा भने बढेको छ। अघिल्लो वर्ष ३.७८ प्रतिशत रहेको औसत निष्क्रिय कर्जा गत वर्ष बढेर ४.१७ प्रतिशत पुगेको छ। हिमालयन बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी ७.२८ प्रतिशत पुगेको छ। यसका साथै कुमारी बैंक (६.४२%), एनआइसी एसिया बैंक (६.२८%), र प्राइम कमर्सियल बैंक (५.५६%) को निष्क्रिय कर्जा पनि ५ प्रतिशतभन्दा माथि रहेको छ।एभरेष्ट बैंक एकमात्र यस्तो बैंक हो जसको निष्क्रिय कर्जा १ प्रतिशतभन्दा कम (०.३८%) रहेको छ। स्ट्याण्डर्ड चार्टड बैंक र सिद्धार्थ बैंकको निष्क्रिय कर्जा पनि क्रमशः १.४७ प्रतिशत र २.६२ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षमा २० वाणिज्य बैंकले कुल ७१ अर्ब ४५ करोड ८ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँले बढी हो । बैंकहरूको वितरणयोग्य मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो वर्ष ७ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक रहेकोमा गत वर्ष यो बढेर १९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यसले बैंकहरूको औसत लाभांश क्षमता १३.११ प्रतिशत रहेको देखाउँछ ।

बैंक विवरण आउँदा केही चमत्कारिक सुधार पनि आएका छन् । केही बैंकको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । कुमारी बैंकले ४५८ गुणा र नेपाल बैंकले १३१ गुणाले आफ्नो नाफा बढाएका छन् । चार वटा बैंकको नाफा भने अघिल्लो वर्षको तुलनामा घटेको छ । सबैभन्दा बढी गिरावट एनआइसी एसिया बैंकको नाफामा आएको छ, जुन ७० करोड १४ लाख रुपैयाँबाट घटेर १० करोड १५ लाख रुपैयाँमा झरेको छ ।

कर्जा असुलीमा केही सुधार भएकाले खराब कर्जाका लागि छुट्याउनुपर्ने प्रोभिजनिङ रकममा पनि कमी आएको छ । गत वर्ष बैंकहरूले १७ अर्ब ४८ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन्, जुन अघिल्लो वर्षको २३ अर्ब ४८ करोड रुपैयाँभन्दा कम हो । अधिल्लो बर्ष सर्वाधिक नाफा कमाउनेमा २० वाणिज्य बैंकमध्ये १६ वटाले छन् । नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ। त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् ।

बैंकहरूको नाफामा भएको वृद्धिको मुख्य कारणहरूमा राष्ट्र बैंकको लचकतापूर्ण नीति र कर्जा पुनर्संरचनाको सुविधालाई मानिएको छ । यसका साथै, बैंकहरूले कर्जा असुलीमा ध्यान केन्द्रित गर्दा निष्क्रिय कर्जा धेरै बढ्नबाट रोकिएको पनि देखिन्छ ।

1

Scroll to Top