जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारले गैरजिम्मेवारपूर्ण निर्णयहरू गर्न थालेको भन्दै तत्काल राजीनामा माग गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै मुभमेन्टले सरकारका क्रियाकलापलाई नैतिकता र जनविश्वास गुमाएको कदमका रूपमा व्याख्या गरेको छ।
विज्ञप्तिमा सरकारका प्रमुख पदाधिकारीहरूमाथि विभिन्न गम्भीर आरोपहरू लगाइएका छन्। ऊर्जा मन्त्री कुलमान घिसिङमाथि आर्थिक अनियमिततामा मुछिएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा कम्पनीलाई गैरकानुनी कर छुट दिएको, र महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब विक्रीमा मुछिएका व्यक्तिहरूलाई छुट दिएको आरोप लगाइएको छ। यसैगरी, प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले समेत आफ्ना आफन्तलाई नियुक्ति दिएको आरोप छ भने गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो काकालाई डीआईजी बनाउन सशस्त्र प्रहरीमा दरबन्दी थपेर पदीय दुरुपयोग गरेको उल्लेख छ।
जेनजी मुभमेन्टले यस किसिमका गतिविधिहरूले विद्रोहका आदर्श, सुशासनका लागि बलिदान दिने सहिद र घाइतेहरू लगायत सम्पूर्ण नेपाली जनताप्रति गम्भीर अपमान गरेको ठहर गरेको छ। ‘सत्ता ‘कू’ गरेर बनेको’ भनिएको सुशीला कार्की र उनको मन्त्रिपरिषदलाई सार्वजनिक रूपमा बहिष्कार गर्दै अवज्ञा गर्न समेत मुभमेन्टले समग्र देशवासीलाई आह्वान गरेको छ। अन्ततः मुभमेन्टले प्रधानमन्त्री कार्कीलाई तत्काल पदबाट राजीनामा दिन र ‘जेनजी विद्रोहको भावना तथा जनआकांक्षामाथि कुठाराघात नगर्न’ चेतावनी दिएको छ।


