Banijya News

विकटेश्वर महादेव पापमोचनदेखि मोक्षहुने,स्कन्दपुराणमा उल्लेखित इतिहास र आस्थाको पवित्र धरोहर

1
1.0K Shares

काभ्रेको बनेपा नगरपालिका–१३, साँगास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विकटेश्वर महादेव मन्दिरमा साउन महिनाका सोमबार विशेषगरी अन्तिम सोमबार भक्तजनको चहलपहल बढ्ने गर्दछ। शिवभक्तहरू बिहानैदेखि मन्दिर पुगेर पूजाआराधना, जलार्पण र दर्शन गर्ने गर्छन्। प्राकृतिक सौन्दर्य, प्राचीन धार्मिक आख्यान र सांस्कृतिक इतिहाससँग जोडिएको यस क्षेत्रलाई स्थानीयस्तरमा महत्वपूर्ण तीर्थस्थलका रूपमा लिइन्छ।

रुद्गिरि पर्वतको उत्तर–पश्चिम तथा द्रोण पर्वतको दक्षिण काखमा रुद्रावती नदीको तटमा अवस्थित विकटेश्वर महादेवलाई स्वयंभू शिवलिङ्गका रूपमा पूज्ने गरिन्छ। धार्मिक विश्वासअनुसार उक्त शिवलिङ्ग कुनै मानवले स्थापना गरेको नभई भगवान् शिव स्वयं प्रकट भएर स्थापित भएको हो। यसका कारण विकटेश्वर क्षेत्रको धार्मिक महत्व अन्य शिवालयको तुलनामा विशिष्ट मानिन्छ।

विकटेश्वर रहेको क्षेत्रलाई प्राचीनकालमा ‘पुष्पतीर्थ’का रूपमा समेत चिनाइएको धार्मिक ग्रन्थमा उल्लेख पाइन्छ। स्कन्दपुराणको हिमवत्खण्डमा वर्णित कथाअनुसार विकट नामका एक व्याधा सिकार गरेर जीवनयापन गर्थे। पुष्पतीर्थ पुगेपछि त्यहाँको पवित्र वातावरणबाट प्रभावित भएर उनले हिंसात्मक जीवन त्यागे र भगवान् शिवको कठोर तपस्या गर्न थाले।

धार्मिक कथाअनुसार विकटले १२ वर्षसम्म निरन्तर तपस्या गरेपछि माघ कृष्ण तृतीयाका दिन भगवान् शिव लिङ्गरूपमा प्रकट हुनुभएको थियो। शिवले विकटलाई वरदान दिँदै आफ्नो प्रिय भक्तका रूपमा स्वीकार गरेको र प्रमथगणको नायकका रूपमा आफू नजिक रहने अवसर प्रदान गरेको विश्वास छ। त्यसै क्रममा शिवलिङ्गको नाम ‘विकटेश्वर’ रहने धार्मिक मान्यता रहेको छ।

शैव परम्परामा भगवान् शिवलाई सृष्टिको संहारकर्ता मात्र नभई करुणा, तपस्या, वैराग्य, पुनर्जन्म र मोक्षका प्रतीकका रूपमा समेत मानिन्छ। नेपालमा शिव आराधनाको परम्परा प्राचीन समयदेखि रहँदै आएको पाइन्छ। विशेषगरी साउन महिना शिवभक्तिका लागि महत्वपूर्ण मानिने भएकाले सोमबारका दिन शिवालयमा जल, दूध, बेलपत्र तथा अन्य पूजासामग्री अर्पण गर्ने परम्परा छ। शिवलाई जल अर्पण गर्दा मनोकामना पूरा हुने, दुःख–कष्ट हट्ने र आध्यात्मिक शान्ति प्राप्त हुने जनविश्वास छ।

विकटेश्वर क्षेत्रको ऐतिहासिक महत्व पनि यसको धार्मिक पक्षसँगै जोडिएको छ। हिमवत्खण्डमा वर्णित कथा, पुष्पतीर्थको पहिचान, रुद्रावती नदी तथा वरिपरिका पर्वतहरूले यस क्षेत्रलाई प्राचीन धार्मिक भूगोलको महत्वपूर्ण स्थलका रूपमा प्रस्तुत गर्छन्। नदी, पर्वत र तीर्थसँग जोडिएको यो भूभागले पुस्तौँदेखि स्थानीय संस्कृति र धार्मिक परम्परालाई निरन्तरता दिँदै आएको छ।

यस क्षेत्रलाई ‘हरिहर क्षेत्र’का रूपमा समेत चिनिन्छ। विकटेश्वरको उत्तरतर्फ नदीपारि छिन्नमस्तक नारायणका रूपमा भगवान् विष्णु विराजमान रहेको धार्मिक मान्यता छ। एउटै क्षेत्रमा हरि अर्थात् विष्णु र हर अर्थात् शिवको उपस्थिति भएकाले हरिहर क्षेत्र नाम रहन गएको विश्वास गरिन्छ।

विकटेश्वर महादेवको आराधना गरेमा पापमोचन, दुःख–कष्ट निवारण, ग्रहदशा शान्ति, सुख–शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ। यही आस्था र प्राचीन इतिहासका कारण साउनको अन्तिम सोमबार मात्र होइन, वर्षभरि नै विकटेश्वर धार्मिक पर्यटक तथा श्रद्धालुका लागि आकर्षणको केन्द्र बन्ने गरेको छ।

1

Scroll to Top