Banijya News

ड्रोन हमलापछि साउदीको १२०० किलोमिटर लामो तेल पाइपलाइन बन्द

1
1.1K Shares

लगातारको ड्रोन हमलापछि साउदी अरबले आफ्नो महत्वपूर्ण ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार करिब १२०० किलोमिटर लामो उक्त पाइपलाइन बन्द भएपछि विश्वव्यापी तेल आपूर्तिमा थप दबाब पर्ने देखिएको छ । इरान र अमेरिकाबीच जारी युद्धका कारण स्ट्रेट अफ हर्मुजमा तेल ट्यांकरको आवागमन प्रभावित भइरहेका बेला साउदीको प्रमुख तेल ढुवानी मार्गसमेत बन्द भएको हो । यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्ति र मूल्यमा थप असर पार्न सक्ने आकलन गरिएको छ । साउदी अरबको ऊर्जा मन्त्रालयले सुरक्षा सावधानीका रूपमा पाइपलाइन बन्द गरिएको जनाएको छ । बिहीबार बिहान रियाद र मदिना क्षेत्रमा पाइपलाइनमाथि ड्रोन आक्रमण भएको थियो । आक्रमणमा केही मानिस घाइते भएको र पाइपलाइनमा क्षति पुगेको साउदी विदेश मन्त्रालयले जनाएको छ । घटनापछि क्षतिको मूल्यांकन भइरहेको भए पनि तेल निर्यातमा परेको वास्तविक असर तत्काल स्पष्ट भएको छैन ।

रोयटर्सका अनुसार स्याटेलाइट तस्बिरमा मदिनाको दक्षिणतर्फ पाइपलाइन रहेको क्षेत्रमा कालो धुवाँ उठिरहेको देखिएको थियो । साउदी र इराक दुवैले आक्रमण इराकबाट भएको बताएका छन् । इराकमा इरानसमर्थित सशस्त्र समूहहरूको प्रभाव रहेको क्षेत्रमा आक्रमण भएको अनुमान गरिएको छ ।

विश्व तेल आपूर्तिमा असरको जोखिम

साउदीको ईस्ट–वेस्ट पाइपलाइनले अरब प्रायद्वीप हुँदै स्ट्रेट अफ हर्मुजको जलमार्ग प्रयोग नगरी तेल निर्यात गर्न सहयोग गर्दै आएको थियो । पछिल्ला महिनामा यसबाट दैनिक ४० लाखदेखि ५० लाख ब्यारेलसम्म कच्चा तेल प्रवाह भइरहेको थियो । यो परिमाण विश्वव्यापी तेल आपूर्तिको करिब ४ देखि ५ प्रतिशत हो । पाइपलाइन बन्द हुँदा साउदीको तेल निर्यात क्षमतामा असर पर्न सक्नेछ । यसअघि नै स्ट्रेट अफ हर्मुजमा तेल ट्यांकरको आवागमन प्रभावित भइरहेकाले विश्व बजारमा आपूर्ति संकटको चिन्ता थपिएको छ ।

हुथीको गतिविधि तीव्र

यसैबीच, यमनका इरानसमर्थित हुथी विद्रोहीले रेड सी क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरेको बताइएको छ । चार जना यमनी सरकारी स्रोतले शुक्रबार रेड सीको प्रवेशद्वार बाब अल–मन्देब जलमार्ग नजिक रहेको रणनीतिक पेरिम टापु हुथीले कब्जामा लिएको जानकारी दिएका छन् । हुथीले उक्त क्षेत्रमा नियन्त्रण कायम गरेमा इरानलाई अमेरिकासँगको युद्धमा महत्वपूर्ण रणनीतिक लाभ पुग्न सक्ने आकलन गरिएको छ । यमनी सरकारी सेनाले लाल सागरको तटीय क्षेत्रमा हुथीले कब्जा गरेका क्षेत्र फिर्ता लिन जवाफी कारबाही गर्ने संकेत दिएको छ ।

रोयटर्सका अनुसार हुथीको पछिल्लो सैन्य अग्रसरतामा इरानी रिभोलुसनरी गार्ड्सको प्रत्यक्ष निर्देशन रहेको दाबी गरिएको छ । दुई इरानी स्रोतले इरानले हुथीलाई साउदीमाथिको आक्रमण तीव्र बनाउन निर्देशन दिएको र थप आर्थिक सहयोग तथा हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका छन् । इरानले भने हुथीलाई सैन्य निर्देशन दिने आरोप अस्वीकार गर्दै आएको छ ।

साउदीले माग्यो अमेरिकी सहयोग

पाइपलाइनमाथिको आक्रमणपछि साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बिहीबार कम्तीमा दुई पटक फोन गरेको बताइएको छ । घटनाबारे जानकार दुई स्रोतका अनुसार साउदीले हुथीविरुद्ध लड्न अमेरिकासँग सैन्य सहयोग मागेको हो । तर वासिङ्टनले तत्काल हुथीविरुद्ध प्रत्यक्ष सैन्य कारबाही गर्न अस्वीकार गरेको छ । यद्यपि अमेरिकाले साउदीलाई गुप्तचर सूचना तथा लक्षित कारबाहीका लागि आवश्यक जानकारी उपलब्ध गराउने बताएको छ ।

साउदी विदेश मन्त्रालयका अनुसार इराकका प्रधानमन्त्रीको आग्रहपछि तत्काल कुनै जवाफी कारबाही गरिएको छैन । तर आफ्नो हित र सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाउने अधिकार सुरक्षित रहेको साउदीले जनाएको छ । इराक सरकारले पनि आक्रमणको निन्दा गरेको छ । घटनापछि इरानसँगको शालामचेह सीमा नाका सावधानीस्वरूप बन्द गरिएको छ । उक्त नाका इरानबाट इराकमा खाद्य सामग्री आयात गर्ने प्रमुख मार्गमध्ये एक हो । क्रमणकारीको खोजीका लागि इराकमा व्यापक सुरक्षा अभियान सञ्चालन भइरहेको सुरक्षा स्रोतहरूले बताएका छन् ।

यस घटनाले मध्यपूर्वको द्वन्द्वले तेल आपूर्ति मार्ग, समुद्री व्यापार तथा विश्व ऊर्जा बजारमा पार्न सक्ने जोखिम थप गम्भीर बनेको संकेत गरेको छ ।

1

Scroll to Top