Banijya News

किन रातारात निवासबाट चोलेन्द्र शम्शेरलाई उठाईयो ? प्रहरी चौकीमा राख्नु सुरक्षाका कारण कि हिरासत ?

1
1.0K Shares

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले शनिबार मध्यराति निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु लगेर करिब १२ घण्टापछि पुनः घर फर्काएको छ । प्रहरीले राणालाई कुनै पक्राउ पुर्जी जारी नगरी ‘सुरक्षा खतरा’को आधारमा कार्यालयमा ल्याइएको जनाएको छ भने घटनाले कानुनी प्रक्रिया र प्रहरीको भूमिकामाथि विभिन्न प्रश्न उठाएको छ ।

प्रहरी स्रोतका अनुसार शनिबार राति करिब साढे १२ बजेतिर एसएसपी सन्तोष खड्काको नेतृत्वमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली महाराजगञ्ज–बाँसबारी क्षेत्रस्थित राणाको निवास पुगेको थियो । डीएसपीको कमाण्डमा करिब एक दर्जन सादा पोशाकका प्रहरी घर पुगेपछि त्यहाँ केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।

प्रहरी टोलीले राणालाई तत्काल कार्यालय जान आग्रह गरेपछि उनले सुरुआतमै अस्वीकार गरेका थिए । राणाले आफूलाई किन लैजान खोजिएको हो भन्दै कसूर र पक्राउको आधार खुलाउन तथा पक्राउ पुर्जी देखाउन माग गरेका थिए । प्रहरी स्रोतका अनुसार त्यसक्रममा राणा र प्रहरीबीच झण्डै एक घण्टासम्म प्रश्न–प्रतिप्रश्न भएको थियो ।
प्रहरीले भने ‘जेन जी’ समूहबाट सम्भावित सुरक्षा खतरा रहेको सूचना प्राप्त भएकाले सुरक्षाका लागि कार्यालय लैजानुपरेको बताएको थियो । एसएसपी खड्काले राणालाई डिस्कर्डमार्फत सञ्चालित केही सामूहिक छलफलमा उनीमाथि सुरक्षा जोखिमबारे चर्चा भएको सूचनाका आधारमा तत्काल सुरक्षा व्यवस्थापन गर्नुपर्ने अवस्था आएको जानकारी दिएका थिए ।

राणाले सुरक्षा खतरा भए आफ्नै निवासमा सुरक्षाकर्मी थप्नुपर्ने र आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने तर्क गरेका थिए । उनले सुरक्षा दिनुपर्ने अवस्थामा प्रहरी कार्यालय लैजानुको औचित्यमाथि समेत प्रश्न उठाएका थिए । यद्यपि प्रहरी टोलीले उनलाई टेकु लैजाने निर्णय कायम राखेपछि राणा अन्ततः आफ्नै गाडी चलाएर प्रहरी कार्यालय पुगेका थिए ।

राति करिब २ बजेतिर टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेका राणालाई एसएसपी खड्काको कार्यकक्षमा राखिएको थियो । प्रहरीले उनलाई हिरासतमा राखिएको नभई सुरक्षाका लागि कार्यालयमा राखिएको दाबी गरेको छ । यद्यपि उनीमाथि कुनै पक्राउ पुर्जी जारी नभएको र कुनै मुद्दा दर्ता नभएको तथ्य प्रहरीले नै स्वीकार गरेको छ ।

घटनापछि राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि राणासँग भेट गर्न टेकु पुगेको थियो । आयोग सदस्य मनोज दुवाडीसहितको तीन सदस्यीय टोली कार्यालयको गेटमा करिब ४५ मिनेटसम्म प्रतीक्षा गरे पनि प्रवेश अनुमति नपाएपछि राणालाई नभेटीकन फर्किएको थियो ।

पूर्वप्रधानन्यायाधीशलाई मध्यराति कार्यालय लगिएको विषय सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पायो । सर्वोच्च अदालतको इतिहासमै पूर्वप्रधानन्यायाधीशलाई यसरी रातारात निवासबाट उठाएर प्रहरी कार्यालय लगिएको घटना पहिलो पटक भएको हो । सुरक्षा थ्रेडभए घर घेरेर प्रहरी बस्नुपर्नेमा प्रहरी हिरासतमा किन राखियो ? के एक उच्च तहका पूर्वप्रधानन्यायाधीसलाई देशले प्रहरीको हिरासत भन्दा बाहिर सुरक्षा दिन सक्दैन् ? आम जनताले चर्को बिरोध र प्रश्न गरेका छन् ।

प्रहरीले भने आफूहरूले प्राप्त गरेको सूचनाका आधारमा सम्भावित भौतिक आक्रमणबाट जोगाउन तत्काल कदम चालिएको दाबी गरेको छ । एसएसपी खड्काका अनुसार सुरक्षा जोखिमबारे सूचना मध्यरातितिर प्राप्त भएकाले तत्काल सुरक्षा व्यवस्थापन गर्नुपर्ने अवस्था आएको थियो ।

करिब १२ घण्टापछि आइतबार राणालाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । एसपी रामेश्वर कार्कीले राणालाई परिवारको जिम्मा लगाएर घर पठाइएको पुष्टि गरे। त्यसपछि उनलाई कडा प्रहरी निगरानीका बीच बाँसबारीस्थित निजी निवास पु¥याइएको थियो।

घर फर्काइएपछि पनि राणाको निवास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले सुरक्षा कारण देखाउँदै प्रारम्भिक रूपमा उनको स्थान सार्वजनिक नगरे पनि पछि निजी निवासमै पु¥याइएको खुलेको थियो । घटनाको वास्तविक कारण, सुरक्षा जोखिमको प्रकृति तथा मध्यराति अपनाइएको प्रक्रियाबारे भने अझै स्पष्ट विवरण सार्वजनिक गरिएको छैन ।

राणा शासनको वंशदेखि सर्वोच्चको नेतृत्वसम्म

नेपालको न्यायिक इतिहासमा चर्चित र विवादित दुवै रूपमा परिचित नाम हो– चोलेन्द्रशमशेर जबरा । राणा शासनको प्रभावशाली परिवारमा जन्मिएका उनी देशको सर्वोच्च न्यायिक पद प्रधानन्यायाधीशसम्म पुग्ने व्यक्तित्वका रूपमा चिनिन्छन् । उनको जीवन यात्रा राणा दरबारको विरासत, न्यायिक करियरको आरोह र महाअभियोगसम्मको घटनाक्रमले भरिएको छ ।

चोलेन्द्रशमशेर राणा नेपालका शक्तिशाली शासक वीरशमशेर जबराका चौथो पुस्ताका सन्तान हुन् । उनी वीरशमशेरका पनाति तथा इन्द्रशमशेरका नाति हुन् । राणा शासनको इतिहासमा वीरशमशेरको उदय एउटा निर्णायक मोडका रूपमा लिइन्छ । जंगबहादुर राणाको निधनपछि उनका भाइ रणोद्दीप सिंहले शासन सम्हालेका थिए । तर धीरशमशेरका १७ छोराले सत्ता आफ्नो हातमा लिन रणोद्दीपको हत्या गरेपछि वीरशमशेर श्री ३ महाराज तथा प्रधानमन्त्री बनेका थिए ।

यही राजनीतिक र ऐतिहासिक पृष्ठभूमिबाट आएका चोलेन्द्रका पिता युवराजशमशेर राजसभा स्थायी समितिका सदस्य थिए । परिवारको राजनीतिक प्रभावका बाबजुद चोलेन्द्रले सक्रिय राजनीतिलाई आफ्नो बाटो बनाएनन् । बरु उनले कानून र न्याय क्षेत्रलाई रोजे ।

कानूनमा स्नातक (डीएल) अध्ययन पूरा गरेका राणाले वकालतबाट आफ्नो पेशागत यात्रा सुरु गरेका थिए । लामो समय अधिवक्ताका रूपमा काम गरेपछि २०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भए । न्यायिक क्षेत्रमा उनको प्रवेश यही नियुक्तिबाट औपचारिक रूपमा भएको मानिन्छ ।

न्यायाधीशका रूपमा उनले विभिन्न तहमा काम गरे । पुनरावेदन अदालतमा लामो अनुभव संगालेका राणा विशेष अदालतको सदस्यसमेत बने । त्यसपछि पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीशको जिम्मेवारी सम्हाल्दै गर्दा २०७१ सालमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भए । सन् १९९६ देखि न्यायालयमा सुरु भएको उनको यात्रा सर्वोच्च अदालतसम्म पुग्दा उनी न्यायिक वृत्तमा स्थापित नाम बनिसकेका थिए ।

न्यायिक अनुभवसँगै उनले अन्तर्राष्ट्रिय तालिमसमेत लिएका थिए । सन् २०१३ मा दक्षिण कोरियामा न्यायालय विकाससम्बन्धी विशेष तालिममा सहभागी भएका राणाले न्याय प्रशासन र अदालत व्यवस्थापनसम्बन्धी अध्ययन गरेका थिए ।

२०७१ जेठमा सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेका राणा २०७५ पुसमा देशको प्रधानन्यायाधीश नियुक्त भए । न्यायपालिकाको सर्वोच्च पदमा पुग्दा उनको करियर उत्कर्षमा पुगेको मानिएको थियो । तर त्यसपछिका वर्षहरू विवादरहित रहेनन् ।

२०७८ फागुनमा उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भयो । महाअभियोग दर्तासँगै उनी निलम्बनमा परे र प्रधानन्यायाधीशको जिम्मेवारीबाट अलग भए । महाअभियोग प्रक्रियाले उनको न्यायिक जीवनमा ठूलो मोड ल्यायो र लामो समयसम्म उनी सार्वजनिक बहसको केन्द्रमा रहे ।

यद्यपि, २०८१ साल भदौ २४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले उनीविरुद्धको महाअभियोगको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै दायर रिट खारेज ग¥यो । उक्त फैसलापछि महाअभियोगसम्बन्धी कानुनी विवादको अन्त्य भएको मानिएको छ ।

राणा शासनको ऐतिहासिक विरासत बोकेको परिवारबाट उठेर नेपालको सर्वोच्च न्यायिक पदसम्म पुगेका चोलेन्द्रशमशेरलाई रातिनै प्रहरीले सुरक्षा दिन भन्दै घरबाट उठाएर प्रहरी हिसासतमा राखेपछि फेरि उनको चर्चा सतहमा आएको हो ।

1

Scroll to Top