चितवनको नारायणगढ बजार तथा आसपासका क्षेत्रमा नारायणी नदीको कटान र बाढीबाट उत्पन्न जोखिम बढ्दै गएको भन्दै स्थानीय उद्योगी-व्यवसायीले नदी नियन्त्रणका लागि तत्काल पहल गर्न माग गरेका छन्। नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, प्रभावकारी तटबन्धन र जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएको हो।
सोमबार चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेलाई भेट्दै व्यवसायीको टोलीले नारायणी नदीका कारण नारायणगढ बजारसहित आसपासका बस्ती तथा व्यावसायिक क्षेत्रमा परेको जोखिमबारे जानकारी गराएको थियो। नदीको बहाव, कटान र बाढीका कारण हरेक वर्ष जोखिम दोहोरिँदै आएको भन्दै व्यवसायीहरूले यसलाई अस्थायी रूपमा होइन, दीर्घकालीन योजनाका आधारमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीका अनुसार नदी नियन्त्रणका लागि तत्काल प्राविधिक अध्ययन आवश्यक छ। नदीको वर्तमान अवस्था, कटानको क्षेत्र, विद्यमान तटबन्धनको प्रभावकारिता तथा आगामी दिनमा हुन सक्ने सम्भावित क्षतिको वैज्ञानिक मूल्याङ्कन गरेर मात्रै प्रभावकारी योजना बनाउन सकिने व्यवसायीहरूको धारणा छ।
“नारायणी नदीका कारण उत्पन्न जोखिमलाई सामान्य रूपमा लिन सकिँदैन। बजार र आसपासका क्षेत्रको सुरक्षा तथा व्यवसायिक गतिविधिको निरन्तरताका लागि दीर्घकालीन समाधान आवश्यक छ,” व्यवसायीहरूले लामिछानेसँगको भेटमा बताएका थिए।
व्यवसायीहरूको टोलीले सम्बन्धित सरकारी निकायमार्फत प्राविधिक टोली तत्काल परिचालन गर्न पनि आग्रह गरेको छ। नदीको कटान कुन क्षेत्रमा बढी भइरहेको छ, हाल निर्माण गरिएका तटबन्धनको अवस्था कस्तो छ र थप कुन क्षेत्रमा संरक्षणका संरचना आवश्यक छन् भन्ने विषयमा प्राविधिक अध्ययन गरिनुपर्ने उनीहरूको माग छ।
नारायणी नदी चितवनको प्रमुख नदी प्रणालीमध्ये एक भए पनि वर्षायाममा यसको बहाव बढ्दा नदी आसपासका क्षेत्रमा बाढी तथा कटानको जोखिम बढ्ने गरेको छ। विशेषगरी नारायणगढ बजारसँग जोडिएका क्षेत्रको भौतिक संरचना, व्यापारिक प्रतिष्ठान र स्थानीय बस्तीलाई नदी कटान तथा बाढीबाट जोगाउन प्रभावकारी नदी व्यवस्थापन आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायतको टोलीले लामिछानेलाई भेटेर नदी नियन्त्रणलाई प्राथमिकतामा राख्न आग्रह गरेको थियो।
व्यवसायीहरूको मागपछि लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको सुवेदीले जानकारी दिए। उनका अनुसार लामिछानेले छिट्टै प्राविधिक टोली पठाएर नारायणी नदीको अवस्था अध्ययन गर्ने र अध्ययनको निष्कर्षका आधारमा प्रभावकारी तटबन्धन तथा नदी व्यवस्थापनको काम अघि बढाउने आश्वासन दिएका छन्।
व्यवसायीहरूले भने प्राविधिक अध्ययनसँगै दीर्घकालीन नदी व्यवस्थापनको स्पष्ट योजना बनाउनुपर्नेमा जोड दिएका छन्। नारायणी नदी नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाउन सके नारायणगढ बजारसहित आसपासका क्षेत्रलाई बाढी र कटानबाट सुरक्षित राख्न तथा आर्थिक गतिविधिमा पर्ने सम्भावित क्षति न्यूनीकरण गर्न सकिने उनीहरूको अपेक्षा छ।


