नेपालमा युवा उद्यमशीलताको विकास, रोजगारी सिर्जना र कृत्रिम बुद्धिमत्ता (एआई) को उपयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा सुरु भएको सम्मेलनले युवालाई उत्पादनशील क्षेत्रमा जोड्ने, नवीन व्यावसायिक अवधारणालाई प्रोत्साहन गर्ने र उद्यमका लागि वित्तीय पहुँच विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।
सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था तथा विभिन्न कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको छ। यसका साथै देशका विभिन्न क्षेत्रबाट आएका करिब चार सय उद्यमी, व्यवसायी र अन्य सरोकारवाला सम्मेलनमा सहभागी भएका छन्। युवा उद्यमशीलताको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे छलफल गर्दै उद्यममैत्री वातावरण निर्माणका लागि आवश्यक उपाय पहिचान गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको छ।
सम्मेलनमा वित्तीय पहुँच, वित्तीय समावेशीकरण, उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा प्रविधिको उपयोगलगायतका विषयमा छलफल गरिनेछ। विशेषगरी कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोगले व्यवसाय सञ्चालन, उत्पादन प्रक्रिया, सेवा प्रवाह र रोजगारीका क्षेत्रमा पार्न सक्ने प्रभावबारे विचारविमर्श हुने अपेक्षा गरिएको छ।
सीबीफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनले नेपालको बैंकिङ तथा वित्तीय क्षेत्र र युवा उद्यमीबीचको सम्बन्धलाई थप विस्तारित र व्यावसायिक बनाउन सहयोग पुर्याउने बताएका छन्। उनका अनुसार युवा उद्यमीलाई आवश्यक वित्तीय सेवा उपलब्ध गराउने, उद्यम विस्तारका लागि लगानीको वातावरण बनाउने र उत्पादनशील क्षेत्रमा सुरक्षित कर्जा लगानी बढाउने विषयमा सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
युवा उद्यमीले व्यावसायिक योजना कार्यान्वयन गर्न पुँजी, प्रविधि र बजारमा पहुँचजस्ता चुनौती सामना गर्नुपर्ने अवस्था रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्थासँगको सहकार्यलाई महत्त्वपूर्ण मानिएको छ। वित्तीय संस्थाले उद्यमको आवश्यकता बुझेर उपयुक्त कर्जा तथा अन्य वित्तीय सेवा उपलब्ध गराउन सके नयाँ व्यवसाय स्थापना र सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले देशको दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक रहेको बताएका छन्। युवा उद्यमशीलता प्रवर्द्धन गर्न नीतिगत व्यवस्था सुदृढ बनाउनु, स्टार्टअपका लागि बीउ पुँजी उपलब्ध गराउनु र वित्तीय पहुँच विस्तार गर्नु महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
गैरेका अनुसार युवा उद्यमीले आफ्नो व्यावसायिक अवधारणालाई व्यवहारमा उतार्न आवश्यक स्रोत र सहयोग प्राप्त गर्न सके उद्यमशीलताको विकाससँगै रोजगारी सिर्जनामा समेत योगदान पुग्न सक्छ। बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सम्बन्ध राख्ने यी विषयमा सीबीफिनसँगको सहकार्यले सम्मेलनलाई थप प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
नेपालमा युवा जनशक्तिको क्षमता उपयोग, नयाँ व्यवसायको विकास र रोजगारीका अवसर विस्तार गर्न उद्यमशीलतालाई आर्थिक विकासको महत्त्वपूर्ण आधारका रूपमा लिइन्छ। यसका लागि युवालाई व्यावसायिक सीप, प्रविधि, लगानी र बजारसँग जोड्ने नीतिगत तथा संस्थागत व्यवस्था आवश्यक हुन्छ।
सम्मेलनले युवा उद्यमीका समस्या पहिचान गर्नुका साथै स्टार्टअप प्रवर्द्धन, वित्तीय क्षेत्रमैत्री नीति निर्माण, लगानीको वातावरण सुधार र रोजगारीका नयाँ अवसर सिर्जनाका लागि स्पष्ट दिशाबोध गर्ने अपेक्षा गरिएको छ। सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई व्यवहारमा कार्यान्वयन गर्न सके युवा उद्यमशीलताको विकास तथा देशको दिगो आर्थिक वृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास आयोजकहरूले लिएका छन्।


