युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाअन्तर्गत हरित व्यवसाय तथा दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत भएका छन्। वातावरणमैत्री व्यवसाय, दिगो प्याकेजिङ र चक्रीय अर्थतन्त्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पाँच संस्थालाई अनुदान प्रदान गरिएको हो। काठमाडौंको हत्तिसारस्थित माया मनोर बुटिक होटलमा बिहीबार आयोजित पुरस्कार वितरण समारोहमा हरित व्यवसाय प्रवर्द्धन कार्यक्रम (जीबीएपी) अन्तर्गत तीन र दिगो प्याकेजिङ कार्यक्रम (एसपीपी) अन्तर्गत दुई उद्यमीलाई विजेता घोषणा गरिएको थियो। हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत बागमती प्रदेशबाट रि अप स्टुडियो, लुम्बिनी प्रदेशबाट इकोदोस्ती प्रालि र मधेश प्रदेशबाट कुशवाहा बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म विजेता बनेका छन्। उनीहरूले जनही पाँच लाख ७४ हजार रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्। त्यस्तै, दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत ए.वि. बायोडिग्रेडेबल प्रडक्ट प्रालि र छाहारी फार्म प्रालि पुरस्कृत भएका छन्। दुवै संस्थाले जनही सात लाख रुपैयाँ बराबरको अनुदान पाएका छन्।
नवीन सोच र दिगो विकासमा योगदानको मूल्याङ्कन
आयोजकका अनुसार दुवै कार्यक्रमको अन्तिम चरणमा पुगेका सहभागीले निर्णायक मण्डलसमक्ष आफ्ना व्यावसायिक अवधारणा, उत्पादन तथा नवीन समाधान प्रस्तुत गरेका थिए। व्यावसायिक सम्भावना, नवीनता र दिगो विकासमा पुर्याउन सक्ने योगदानका आधारमा विजेता छनोट गरिएको हो। हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका सहभागीको मूल्याङ्कन काठमाडौं अर्गानिकका भुवन केसी, क्रिएसन नेपालकी सुजाता कोइराला, एभरेस्ट वुमन्स भलिबल लिगकी स्नेभी चापागाईं, लक्ष्मी सनराइज बैंककी विद्या शर्मा र लिंकन इन्टरनेसनल कलेजका सत्येन्द्र उप्रेती सम्मिलित निर्णायक मण्डलले गरेको थियो। त्यसैगरी, दिगो प्याकेजिङ कार्यक्रमका सहभागीको मूल्याङ्कन लक्ष्मी सनराइज बैंकका राम पराजुली, वान टु वाचकी सोनी श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका रिचन श्रेष्ठ र फूलप्रसादकी सुषमा शर्मा वस्ती सम्मिलित निर्णायक मण्डलले गरेको थियो। क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले विजेता उद्यमी तथा नवप्रवर्तकलाई बधाई दिँदै चक्रीय अर्थतन्त्रलाई व्यवहारमा उतार्ने उनीहरूको प्रतिबद्धता नेपालको दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको बताइन्। उनले वातावरणमैत्री व्यावसायिक अभ्यासलाई प्राथमिकता दिन र यस अभियानलाई निरन्तरता दिन आग्रह गरिन्। क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले लागतलाई मात्र प्राथमिकता दिने व्यावसायिक प्रवृत्तिबीच वातावरण र पृथ्वीका लागि लाभदायक विकल्प रोज्नु सकारात्मक भएको बताइन्। उनले प्याकेजिङजन्य फोहोरले वातावरणमा पार्ने असर घटाउन दिगो प्याकेजिङको प्रयोग बढाउनुपर्नेमा जोड दिइन्।
२१ सहभागीबीच प्रतिस्पर्धा
पुरस्कार वितरणअघि अक्टोबर ६ र ७ मा छनोट भएका उद्यमी तथा नवप्रवर्तकका लागि दुईदिने आवासीय बुट क्याम्प सञ्चालन गरिएको थियो। सहभागीलाई व्यावसायिक अवधारणा परिष्कृत गर्न, प्रभावकारी प्रस्तुति तयार पार्न तथा लगानी र बजारका अवसर पहिचान गर्न प्रशिक्षण दिइएको थियो। दुवै कार्यक्रमका अन्तिम चरणमा पुगेका २१ सहभागीमध्ये हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका १३ र दिगो प्याकेजिङ कार्यक्रमका आठ जना थिए। उनीहरूले निर्णायक मण्डल तथा आमन्त्रित सरोकारवालासमक्ष आफ्ना उत्पादन र व्यावसायिक समाधान प्रस्तुत गरेका थिए। युरोपेली संघको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापन, स्रोतको पुनःप्रयोग, वातावरणमैत्री प्याकेजिङ सामग्रीको विकास तथा हरित उद्यमशीलताको प्रवर्द्धनमा जोड दिँदै आएको छ। परियोजनाले नवीन व्यावसायिक सोचलाई प्रोत्साहन गर्दै वातावरण संरक्षण र आर्थिक विकासलाई सँगसँगै अघि बढाउने लक्ष्य राखेको छ।


