कोशी प्रदेश सरकारले बजेट र नीतिगत घोषणामा समेटेका कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुन थालेपछि निजी क्षेत्रले बजेटको प्रभावकारिता निगरानी गर्न ‘बजेट वाच’ अभियान सुरु गरेको छ । प्रदेश सरकारले घोषणा गरेका योजना तथा कार्यक्रम कागजमै सीमित हुने प्रवृत्तिलाई निरुत्साहित गर्दै कार्यान्वयनको अवस्था सार्वजनिक गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले सुरु गरेको अभियानअन्तर्गत चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको बजेट खर्चको अवस्था कमजोर देखिएको छ । असोज २० गतेसम्मको विवरणअनुसार कोशी प्रदेशले कुल बजेटको ६.८४ प्रतिशत मात्रै खर्च गरेको छ ।
प्रदेशको कुल बजेट ४० अर्ब ४४ करोड रुपैयाँ रहेकामा उक्त अवधिसम्म जम्मा २ अर्ब ७७ करोड रुपैयाँ खर्च भएको छ । विकास निर्माण तथा पूर्वाधार विस्तारसँग प्रत्यक्ष सम्बन्धित पुँजीगत खर्चको अवस्था अझ कमजोर छ । पुँजीगत शीर्षकमा विनियोजित २० अर्ब ७५ करोड रुपैयाँमध्ये ४० करोड रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल पुँजीगत बजेटको १.९ प्रतिशत हो । यस अवधिमा संघीय सरकारको कुल खर्च १४ प्रतिशत र पुँजीगत खर्च ३ प्रतिशत रहेको तथ्यांकले देखाउँछ । संघीय सरकारको तुलनामा समेत कोशी प्रदेशको बजेट खर्च न्यून देखिएपछि प्रदेशमा विकास आयोजना कार्यान्वयनको गति र सरकारी खर्च क्षमतामाथि प्रश्न उठेको छ ।
आठ प्रमुख क्षेत्रमा निगरानी
‘बजेट वाच’ अभियानमार्फत निजी क्षेत्रले प्रदेशको आर्थिक विकास र व्यवसायसँग प्रत्यक्ष सम्बन्ध राख्ने आठ प्रमुख क्षेत्रका बजेट प्रतिबद्धताको कार्यान्वयन अवस्था अध्ययन गरिरहेको छ । उद्योग, कृषि, पर्यटन, पूर्वाधार, ऊर्जा, राजस्व सुधार, रोजगारी र सूचना प्रविधिलगायत क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । औद्योगिक विकासतर्फ उपयोगविहीन तथा नदी उकास जग्गाको बहुउपयोग, पूर्वाधार निर्माणमा स्वदेशी काठको अनिवार्य प्रयोग, मिचाहा वनस्पतिबाट प्राङ्गारिक मल उत्पादन, बाँसमा आधारित उद्यम प्रवर्द्धन र ‘मेक इन नेपाल’ अभियानमार्फत स्थानीय उत्पादनको बजार विस्तार गर्ने कार्यक्रमको प्रगति निगरानी गरिनेछ ।
कृषितर्फ रैथाने बाली उत्पादनमा प्रोत्साहन, प्याज, लसुन र आलुजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन बढाउन विशेष प्याकेज, साना किसानलाई सहुलियतपूर्ण कृषि कर्जामा ब्याज अनुदान तथा कफी खेती विस्तारका कार्यक्रम समेटिएका छन् । यी कार्यक्रमको प्रभावकारी कार्यान्वयनले कृषि उत्पादन र स्थानीय उद्यमको विकासमा सहयोग पुग्ने निजी क्षेत्रको अपेक्षा छ । पर्यटन क्षेत्रअन्तर्गत एकीकृत पर्यटन विकास गुरुयोजना निर्माण, कोशी प्रदेश भ्रमण वर्ष सञ्चालन, स्थानीय पदमार्गको पूर्वाधार विकास, होमस्टे प्रवर्द्धन तथा बराहक्षेत्र, पाथिभरा र हलेसीजस्ता धार्मिक स्थलको एकीकृत विकासका कार्यक्रमलाई निगरानीमा राखिएको छ ।
पूर्वाधारतर्फ प्रादेशिक सडक गुरुयोजनामा वैकल्पिक वित्तीय उपकरणको प्रयोग, स्थानीय निर्माण सामग्री तथा सीपको प्रवर्द्धन, साना सहरको विकास, फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता र सार्वजनिक–निजी साझेदारीमा पर्यटकीय आयोजना अघि बढाउने विषय समेटिएका छन् । यसैगरी ताप्लेजुङ र सोलुखुम्बुका जलविद्युत् आयोजना, प्रदेश राजस्व ऐन परिमार्जनसहित कर सुधार, युवा स्वरोजगार, औद्योगिक प्रशिक्षार्थी तालिम तथा धनकुटाको चौबिसेमा सूचना प्रविधि (आईटी) पार्क स्थापना गर्ने योजनाको कार्यान्वयन अवस्थालाई पनि अभियानले प्राथमिकताका साथ हेर्नेछ । युवालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम दिने कार्यक्रमको प्रगतिसमेत निगरानी गरिनेछ ।
घोषणादेखि नतिजासम्म निगरानी
नेपाल उद्योग परिसंघले संघीय सरकारको बजेट कार्यान्वयनमाथि विगत चार वर्षदेखि निगरानी गर्दै आएको छ । परिसंघको अनुभवअनुसार बजेटमा उल्लेख भएका सबै कार्यक्रम निर्धारित समयमै कार्यान्वयन हुन सकेका छैनन् । संघीय बजेटका ७४ बुँदाको समीक्षा गर्दा पूर्ण कार्यान्वयनको दर आर्थिक वर्ष २०७९/८० मा १८ प्रतिशत रहेकामा आर्थिक वर्ष २०८२/८३ मा बढेर ४६ प्रतिशत पुगेको थियो । तर, उत्तिकै संख्याका बुँदा बैठक र छलफलमा सीमित हुने तथा ठोस नतिजा नदेखिने गरी आंशिक कार्यान्वयनमै अड्किने गरेको अध्ययनले देखाएको छ । यही अनुभवका आधारमा प्रदेश सरकारका घोषणा पनि मन्त्रालय र निकायमा सीमित नहोऊन् भन्ने उद्देश्यले सुरुवाती चरणबाटै निगरानी सुरु गरिएको परिसंघले जनाएको छ ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले बजेट प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणको गतिमा गम्भीर असर पर्ने बताए । सरकारको आलोचना मात्रै गर्ने नभई कुन कार्यक्रम कार्यान्वयन गर्न के काम आवश्यक छ र कुन मन्त्रालय जिम्मेवार छ भन्ने स्पष्ट मार्गचित्रसहित रचनात्मक सहयोग पुर्याउनु अभियानको उद्देश्य रहेको उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष भागवत भट्टराईले बजेट घोषणा र कार्यान्वयनबीचको खाडल पुर्न तथ्यमा आधारित निगरानी र सार्वजनिक–निजी संवाद आवश्यक रहेको बताए । उनका अनुसार बजेटमा समेटिएका प्रतिबद्धताको प्रगति नियमित रूपमा सार्वजनिक गर्दा कार्यान्वयनप्रति सम्बन्धित निकायलाई जिम्मेवार बनाउन सहयोग पुग्न सक्छ ।
समयसीमा र जिम्मेवारी तोक्न माग
निजी क्षेत्रले प्रदेश सरकारलाई प्रत्येक बजेट प्रतिबद्धताका लागि समयसीमासहितको कार्ययोजना बनाउन आग्रह गरेको छ । साथै, जिम्मेवार निकाय स्पष्ट तोक्न, मन्त्रालयबीच समन्वय प्रभावकारी बनाउन र नीति तथा कार्यविधि निर्माण गर्दा निजी क्षेत्रसँग अनिवार्य परामर्श गर्नुपर्ने माग गरेको छ । खरिद प्रक्रिया ढिलो गर्ने निकायको बजेट रोक्का गर्ने तथा रकमान्तरसम्बन्धी निर्णय पारदर्शी बनाउन पनि निजी क्षेत्रले सुझाव दिएको छ । बजेटमा विनियोजित रकम समयमै खर्च हुन नसक्दा विकास आयोजना प्रभावित हुने, निजी लगानी निरुत्साहित हुने र रोजगारी सिर्जनाका अवसर खुम्चिने जोखिम रहन्छ । त्यसैले बजेट खर्चको नियमित समीक्षा, जिम्मेवारीको स्पष्ट बाँडफाँट र परिणाममा आधारित कार्यान्वयन प्रणाली विकास गर्न सके मात्रै प्रदेश सरकारका आर्थिक प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुन सक्ने निजी क्षेत्रको अपेक्षा छ ।


