Banijya News

इजरायलमा रोजगारी दिलाउने भन्दै साढे २ करोड ठगीको आरोपमा कांग्रेस उम्मेदवार बिनिता खड्का पक्राउ

1
1.0K Shares

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी बिनिता खड्का वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई शुक्रबार राष्ट्रिय सभागृह नजिकैबाट पक्राउ गरेको हो।

खड्का कांग्रेसको केन्द्रीय सदस्य पदमा खुला महिलातर्फबाट उम्मेदवार बनेकी थिइन्। इजरायलमा केयर गिभरको रोजगारी दिलाइदिने प्रलोभन देखाएर रकम असुली गरेको घटनामा उनको संलग्नता खुलेपछि पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबराले जानकारी दिएका छन्।

प्रहरीका अनुसार उक्त प्रकरणमा यसअघि चार जना पक्राउ परिसकेका छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरेर ठगी गरेको आरोपमा नेपाली कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए।

प्रहरीको अनुसन्धान निष्कर्षअनुसार आरोपीहरूले इजरायलमा केयर गिभरको रोजगारी दिलाइदिने भन्दै विभिन्न व्यक्तिबाट करिब २ करोड ५० लाख रुपैयाँ असुल गरेका थिए। उक्त रकम संकलन तथा बाँडफाँडमा खड्काको समेत संलग्नता रहेको खुलेको एसएसपी जबराले बताएका छन्।

प्रहरीका अनुसार दोलखाको कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटीले आफूले संकलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई दिएको बयानमा उल्लेख गरेकी छन्। अनुसन्धानका क्रममा ठगीबाट संकलित रकम विभिन्न व्यक्तिबीच बाँडफाँड भएको देखिएको प्रहरीको भनाइ छ।

यस प्रकरणमा पक्राउ परेका चौलागाईंलाई असोज १ गते रामेछापको मन्थलीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि अनुसन्धान अघि बढाउने क्रममा अन्य व्यक्तिको संलग्नताबारे पनि जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीका लागि इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियाअन्तर्गत नेपाल सरकारले सन् २०२४ मा छनोट परीक्षा सञ्चालन गरेको थियो। उक्त प्रक्रियामा लक्की ड्रमार्फत २ हजार ९९ जना छनोट भएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लक्की ड्रमा छनोट हुन नसकेका १५६ जनालाई लक्षित गर्दै चौलागाईं नेतृत्वको समूहले इजरायल पठाइदिने आश्वासन दिएर रकम असुलेको आरोप छ। रोजगारीको अवसर दिलाउने भन्दै रकम लिइए पनि पीडितहरू इजरायल जान नपाएपछि ठगीको घटना बाहिर आएको हो।

सरकारको आधिकारिक छनोट प्रक्रियाबाट बाहिर रहेका व्यक्तिलाई समेत रोजगारीमा पठाइदिने भन्दै रकम असुलिएको आरोपबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम प्रयोग गरेर रकम असुलिएको भनिएको घटनाले वैदेशिक रोजगारीका नाममा हुने ठगीमा सरकारी पदाधिकारीको नामसमेत दुरुपयोग हुन सक्ने जोखिमलाई उजागर गरेको छ।

सीआईबीले पक्राउ परेकी खड्कासहित यस प्रकरणमा संलग्न भनिएका व्यक्तिहरूको भूमिका, रकमको कारोबार र ठगीबाट प्रभावित व्यक्तिहरूको विवरणबारे अनुसन्धान अघि बढाइरहेको छ। घटनामा संलग्नता पुष्टि गर्ने प्रमाण संकलन तथा कानुनी प्रक्रिया अगाडि बढाउने काम भइरहेको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीमा जाने इच्छुक व्यक्तिलाई आधिकारिक प्रक्रिया र विश्वसनीय माध्यमबाट मात्रै आवेदन दिन तथा रोजगारी दिलाइदिने भन्दै रकम माग्ने व्यक्तिबारे सतर्क रहनुपर्ने देखिएको छ।

1

Scroll to Top