Banijya News

मन्त्र थकालीलाई साढे दुई लाख जरिवाना, भान्सामा साङ्ला र भुसुना भेटिए

1
1.1K Shares

काठमाडौँको महाराजगञ्जस्थित मन्त्र थकाली रेस्टुरेन्टलाई खाद्य स्वच्छता तथा सरसफाइमा गम्भीर लापरबाही गरेको भन्दै सरकारले दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ। ग्रीन तारा हस्पिटालिटी प्रा.लि.द्वारा सञ्चालित उक्त रेस्टुरेन्टमा उपभोक्ताले खानामा किरा परेको गुनासो गरेपछि सरकारी अनुगमन टोलीले आकस्मिक निरीक्षण गरेको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको र्‍यापिड रेस्पोन्स टिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले शनिबार रेस्टुरेन्टमा अनुगमन गरेको हो। उपभोक्ताबाट टेलिफोनमार्फत प्राप्त उजुरीका आधारमा टोली निरीक्षणमा पुगेको थियो। अनुगमनका क्रममा भान्साको सरसफाइ, खाद्यपदार्थको भण्डारण र फोहोर व्यवस्थापनमा विभिन्न कमजोरी फेला परेपछि जरिवाना गरिएको सम्बन्धित निकायले जनाएको छ।

अनुगमन टोलीका अनुसार रेस्टुरेन्टको भान्सामा पकाइएका खाद्यपदार्थ खुला अवस्थामा राखिएको थियो। खानेकुरालाई उचित तरिकाले छोपेर भण्डारण नगर्दा धुलो, फोहोर तथा विभिन्न कीरा पर्न सक्ने जोखिम देखिएको थियो। त्यसैगरी, फ्रिज र भान्सामा साङ्ला तथा भुसुना भेटिएका थिए। किचेनको ड्रेनेजसमेत फोहोर अवस्थामा रहेको पाइएको थियो।

खाद्यपदार्थ सुरक्षित राख्नुपर्ने स्थानमै कीरा देखिनु र भान्साको सरसफाइ सन्तोषजनक नहुनुले खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नभएको अनुगमन टोलीको निष्कर्ष छ। फ्रिजभित्र खाद्यवस्तु व्यवस्थित रूपमा नराखिएको र फोहोर सङ्कलन गर्ने डस्टबिन खुला छाडिएको पनि टोलीले फेला पारेको थियो। यस्ता कमजोरीले खानेकुराको गुणस्तरमा असर पार्नुका साथै उपभोक्ताको स्वास्थ्यमा जोखिम उत्पन्न गर्न सक्ने भन्दै टोलीले सुधारका लागि निर्देशन दिएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रेस्टुरेन्टलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको हो। उपभोक्ताले गरेको गुनासोपछि गरिएको अनुगमनमा भेटिएका कमजोरीलाई आधार बनाएर कारबाही अघि बढाइएको सम्बन्धित विभागले जनाएको छ।

अनुगमनका क्रममा असुरक्षित तरिकाले भण्डारण गरिएको खाद्यवस्तु पनि फेला परेको थियो। टोलीले मसीयुक्त कागज अर्थात् पत्रिकामा पोको पारेर राखिएको करिब एक किलोग्राम फ्राइड आलु स्वास्थ्यका लागि प्रतिकूल हुन सक्ने भन्दै तत्काल नष्ट गरेको छ। खाद्यवस्तु प्याकेजिङ तथा भण्डारण गर्दा प्रयोग गरिने सामग्रीले खानेकुराको स्वच्छता र सुरक्षामा असर पार्न सक्ने भएकाले सुरक्षित सामग्री प्रयोग गर्नुपर्नेमा टोलीले जोड दिएको छ।

निरीक्षणपछि टोलीले रेस्टुरेन्ट सञ्चालकलाई पकाइएका खानेकुरा सधैँ राम्ररी छोपेर राख्न निर्देशन दिएको छ। त्यस्तै, भान्सा, फ्रिज, खाद्यपदार्थ भण्डारण गर्ने स्थान तथा निकास प्रणालीको नियमित सफाइ गर्न र कीरा नियन्त्रणका लागि प्रभावकारी व्यवस्था मिलाउन भनिएको छ। डस्टबिनलाई खुला नराख्न र खाद्यवस्तु व्यवस्थित रूपमा भण्डारण गर्नसमेत निर्देशन दिइएको छ।

विभागले रेस्टुरेन्ट सञ्चालकलाई सात दिनभित्र अनुगमनका क्रममा देखिएका सबै कमजोरी सुधार गरी त्यसको प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ। तोकिएको समयभित्र सुधार नगरेमा थप कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

विभागले चेतावनी दिँदै भनेको छ, ‘तोकिएको समयभित्र सुधार नभएमा प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही हुनेछ।’

1

Scroll to Top