Banijya News

विद्यार्थी राजनीतिदेखि कांग्रेस सभापतिसम्म: गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

1
1.0K Shares

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टीको सभापतिमा निर्वाचित भएका छन् । शुक्रबार भएको मतदानको मतगणना शनिबार बिहान सम्पन्न हुँदा थापा ६ हजार ५८४ मत प्राप्त गरी सभापतिमा विजयी भएका हुन् । निर्वाचन संयोजक प्रेमबहादुर खड्काले दिएको जानकारीअनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे ।

निर्वाचनमा कुल सात हजार १३ मत खसेको थियो भने ५४ मत बदर भएको थियो । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थापा झण्डै चार दशकपछि पार्टीको सर्वोच्च नेतृत्वमा पुगेका हुन् । उनको यो जितलाई कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्व र सङ्गठनात्मक परिवर्तनको बहससँग जोडेर हेरिएको छ ।

थापाको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनसँगै सुरु भएको थियो । त्यतिबेला कक्षा ९ मा अध्ययनरत उनी बालकांग्रेसको सदस्यका रूपमा प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा सहभागी भएका थिए । त्यसपछि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै उनले पार्टीको सङ्गठनभित्र क्रमशः आफ्नो स्थान बनाउँदै लगे ।

२०४८ सालमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) काठमाडौं वडा नम्बर ३३ को सचिव बनेका थापा २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य निर्वाचित भए । २०५३ सालमा स्ववियु सचिव र २०५५ सालमा सभापति बनेपछि विद्यार्थी राजनीतिमा उनको प्रभाव थप विस्तार भयो ।

२०५५ सालमै त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बनेका थापा २०५७ सालमा नेविसङ्घको केन्द्रीय उपाध्यक्ष र २०५९ सालमा महामन्त्री निर्वाचित भएका थिए । विद्यार्थी सङ्गठनको नेतृत्वमा रहँदा उनले लोकतान्त्रिक आन्दोलन र राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरे ।

राजाको प्रत्यक्ष शासनविरुद्ध २०६१ सालमा भएको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्व गरेका थापामाथि राजद्रोहको मुद्दासमेत लागेको थियो । अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले उनलाई ‘आस्थाको बन्दी’ घोषणा गरेको थियो । २०६२/६३ को जनआन्दोलनमा लोकतन्त्र र गणतन्त्रका पक्षमा सक्रिय सहभागिताले उनलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउन थप मद्दत गर्‍यो ।

२०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सभासद् बनेपछि थापाको राजनीतिक जिम्मेवारी राष्ट्रिय तहमा विस्तार भयो । संविधान निर्माणका क्रममा मौलिक हक, बालअधिकार, नागरिकता र ऊर्जा सुरक्षाजस्ता विषयमा उनले सक्रियता देखाएका थिए । २०७० सालमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएपछि संविधान निर्माण प्रक्रियामा उनको भूमिका थप महत्त्वपूर्ण बन्यो ।

२०७१ सालमा कृषि तथा जलस्रोत समितिको सभापति बनेका थापाले कृषि, ऊर्जा र जलस्रोतसम्बन्धी नीतिगत छलफलमा सहभागिता जनाए । २०७३ सालमा स्वास्थ्य मन्त्री नियुक्त भएका उनले नौ महिनाको कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बिमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिएका थिए ।

२०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थापाले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण संरक्षण र सुशासनका विषय संसद्मा उठाउँदै आएका थिए । राजनीतिसँगै अध्यापन, सञ्चार र सामाजिक अभियानमा समेत संलग्न उनले सार्वजनिक सेवा सुधार र युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने विषयमा जोड दिँदै आएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनबाट २०७८ सालमा महामन्त्री निर्वाचित भएपछि थापा पार्टीभित्र नीतिगत बहस र सङ्गठन सुधारको पक्षमा सक्रिय रहे । २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि पार्टीमा युवा सहभागिता बढाउनुपर्ने विषय उठाउँदै उनले महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गरेका थिए ।

विशेष महाधिवेशनपछि सर्वसम्मत रूपमा सभापतिको जिम्मेवारी सम्हालेका थापा नौ महिनापछि १५औँ महाधिवेशनबाट पुनः सभापति निर्वाचित भएका हुन् । यससँगै पार्टीको नेतृत्वमा उनको जिम्मेवारी औपचारिक रूपमा थप सुदृढ भएको छ ।

युवालाई स्वदेशमै अवसर, सार्वजनिक शिक्षामा लगानी, स्वास्थ्य सेवामा समान पहुँच र सुशासन थापाले निरन्तर उठाउँदै आएका प्रमुख राजनीतिक मुद्दा हुन् । अब सभापतिका रूपमा यी प्रतिबद्धतालाई पार्टीको नीति, सङ्गठन विस्तार र कार्यान्वयनमा कसरी रूपान्तरण गर्छन् भन्ने विषय उनको नेतृत्वको महत्त्वपूर्ण परीक्षा हुनेछ ।

विद्यार्थी राजनीतिबाट सुरु भएको थापाको यात्रा अहिले देशकै पुरानो लोकतान्त्रिक पार्टीको नेतृत्वसम्म पुगेको छ । उनको कार्यकालले कांग्रेसको भावी दिशा, पुस्तान्तरण र सङ्गठन सुधारमा कस्तो प्रभाव पार्छ भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ ।

1

Scroll to Top