Banijya News

कांग्रेसको मतगणना जारी : उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि हुँदा महामन्त्री अन्यको मत कति ?

1
1.0K Shares

नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदका लागि शनिबार रातिदेखि सुरु भएको मतगणना जारी छ। निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ४३ मत खसेकोमा हालसम्म २ हजार २३१ मत गणना गरिएको छ। गणना भएका मतपरिणामअनुसार उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले अग्रता कायम राखेका छन्।

उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ई. मधु आचार्यले ७१२ मत प्राप्त गरेका छन् भने सुरेन्द्रराज पाण्डेले ६८० मत पाएका छन्। त्यस्तै, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा.डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्। यस पदमा दुई जना निर्वाचित हुने व्यवस्था रहेकाले मतगणनाको अन्तिम परिणामलाई चासोका साथ हेरिएको छ।

उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ६१५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। जीवन परियारले ५७८ मत प्राप्त गरेका छन्। त्यसैगरी, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत पाएका छन्। यस समूहबाट एक जना उपसभापति निर्वाचित हुनेछन्।

महामन्त्री (खुला) तर्फ उदयशम्शेर राणाले ७८६ मत प्राप्त गरेका छन् भने अमरसिंह पुनले ६९५ मत पाएका छन्। डा. सुनीलकुमार शर्माले ५२६ र गुरुराज घिमिरेले ३२८ मत प्राप्त गरेका छन्। त्यस्तै, नैनसिंह महरले २७, प्रदीप पौडेलले १३८, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेको विवरणमा उल्लेख छ। यस पदबाट दुई जना निर्वाचित हुनेछन्।

महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मत प्राप्त गरेकी छन्। दुवै उम्मेदवारबीच १३ मतको अन्तर छ। त्यस्तै, रीता खनालले २५१ मत प्राप्त गरेकी छन्। यस पदमा एक जना निर्वाचित हुनेछन्।

मतगणना जारी रहेकाले अहिले सार्वजनिक भएका मतपरिणाम प्रारम्भिक हुन्। बाँकी मत गणना भएपछि उम्मेदवारहरूको मतसंख्या र स्थानमा परिवर्तन हुन सक्नेछ। कांग्रेसको विभिन्न पदाधिकारी चयनका लागि भइरहेको मतगणनाको अन्तिम परिणाम निर्वाचन समितिले औपचारिक रूपमा सार्वजनिक गरेपछि मात्रै निर्वाचित हुने पदाधिकारीको टुंगो लाग्नेछ।

उपसभापति– खुल्ला – २ जना

१. गोविन्द भट्टराई – ६०९

२. डा.चन्द्रकान्त भण्डारी –१०५७

३.प्रा.डा. चन्द्रमोहन यादव –१९३

४.दीपक गिरी – ३०१

५. धनराज गुरुङ – ४०६

६. ई.मधु आचार्य – ७१२

७. सुरेन्द्रराज पाण्डे– ६८०

उपसभापति -समावेशी १ जना

१. जीवन परियार ५७८

२. फरमुल्लाह मन्सुर २८५

३. विनोद कुमार चौधरी ६१५

४. रञ्जित कर्ण १८३

५. सीता गुरुङ ३३४

महामन्त्री (खुल्ला २ जना )

१. अमरसिंह पुन ६९५

२ उदय शम्शेर राणा ७८६

३. गुरुराज घिमिरे ३२८

४. नैनसिंह महर २७

५. प्रदीप पौडेल  १३८१

६. शंकर तिवारी ४६

७. डा. सन्तोष उपाध्याय २८

८. डा. सुनिल कुमार शर्मा ५२६

महामन्त्री (महिला (१ जना)

१. डा. डिला संग्रौला (पन्त) ९६५

२. महालक्ष्मी उपाध्याय (डिना) ९५२

३. रिता खनाल २५१

1

Scroll to Top