Banijya News

दसैँमा पनि ग्यासको हाहाकार, उपत्यकामा सहज आपूर्तिका लागि अझै चार महिना कुर्नुपर्ने

1
1.0K Shares

नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन् पेचिलो बनेको छ। बजारमा ग्यासको माग बढिरहेको अवस्थामा उपभोक्ताले घण्टौँसम्म लाइनमा बसेर पनि सिलिन्डर पाउन नसकेको गुनासो गरेका छन्। ग्यास उद्योगीहरूका अनुसार आपूर्ति प्रणालीमा थप अवरोध नआए पनि बजारमा ग्यासको आपूर्ति सामान्य अवस्थामा फर्किन अझै चार महिनासम्म लाग्न सक्छ।

दसैँको मुखमा ग्यासको अभाव हुँदा घरायसी भान्सादेखि होटल तथा रेस्टुरेन्टसम्म प्रभावित भएका छन्। चाडपर्वका बेला नियमितभन्दा बढी ग्यास आवश्यक पर्ने भए पनि बजारमा मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा परेका हुन्।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक भासिएपछि काठमाडौं उपत्यकातर्फ आउँदै गरेका १३० भन्दा बढी ग्यास बुलेट बाटोमै रोकिएका छन्। यसले उपत्यकामा ग्यास ढुवानी प्रभावित बनाएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार सडक अवरुद्ध हुँदा बजारमा ग्यास पु¥याउन कठिनाइ थपिएको हो। आपूर्ति व्यवस्थापनमा थप समस्या नआए पनि विद्यमान अवस्थाका कारण उपभोक्ताले तत्काल राहत पाउने सम्भावना न्यून देखिएको छ।

अभाव न्यूनीकरण गर्न नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघको समन्वयमा उपत्यकाका छ स्थानबाट सिलिन्डर साट्ने व्यवस्था गरिएको छ। यसअन्तर्गत उपभोक्ताले आफ्नो खाली सिलिन्डर बुझाएर जुनसुकै कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्। घटस्थापनादेखि फूलपातीसम्म लागू गरिएको यो व्यवस्थामा ब्रान्ड परिवर्तन गरेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। यद्यपि, भरिएको सिलिन्डरको निर्धारित मूल्य भने उपभोक्ताले तिर्नुपर्नेछ।

तर, यो व्यवस्थाले पनि उपभोक्ताको समस्या पूर्ण रूपमा समाधान गर्न सकेको छैन। घण्टौँसम्म लाइनमा बस्दा समेत ग्यास नपाएको उपभोक्ताको गुनासो छ। कतिपय ग्यास उद्योगले अन्य कम्पनीका सिलिन्डर साट्न नमानेर आफ्नै ब्रान्डका सिलिन्डर मात्रै स्वीकार गर्ने गरेको उपभोक्ताको भनाइ छ। यसले सबै कम्पनीका सिलिन्डर साट्न पाउने व्यवस्थाको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

ग्यास बिक्रेता महासंघका महासचिव विनोद काफ्लेका अनुसार वितरण केन्द्रहरूबाट दैनिक सयौँदेखि दुई हजारसम्म सिलिन्डर बिक्री भइरहेका छन्। यति धेरै सिलिन्डर बिक्री हुँदा पनि माग अत्यधिक भएकाले लाइनमा बसेका सबै उपभोक्ताले ग्यास पाउन सकेका छैनन्। वितरण केन्द्रमा ग्यास पुगे पनि उपभोक्ताको चापका कारण सहज रूपमा उपलब्ध गराउन कठिन भइरहेको उनको भनाइ छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले जाडोयाममा ग्यासको खपत गर्मीयामको तुलनामा करिब २० प्रतिशत बढ्ने बताए। खपत बढ्ने समयमा आपूर्ति व्यवस्थापन सहज बनाउन चुनौती हुने भएकाले अहिले देखिएको अभाव जाडोयामसम्म लम्बिन सक्ने उनको भनाइ छ।

यसरी दसैँअघि नै ग्यासको आपूर्तिमा देखिएको समस्याले उपभोक्ताको दैनिक जीवन प्रभावित बनाएको छ। सडक अवरोध हटाउने, ढुवानीलाई नियमित बनाउने र सिलिन्डर साट्ने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने काम तत्काल अघि बढाउनुपर्ने देखिन्छ। अन्यथा, चाडपर्वमा बढ्ने मागसँगै उपत्यकाका उपभोक्ताले अझ लामो समय ग्यासको सास्ती खेप्नुपर्ने अवस्था आउन सक्छ।

1

Scroll to Top