Banijya News

अधिकार हस्तान्तरण र अन्तरप्रदेश सहकार्यमा जोड, विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरु

1
1.0K Shares

संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने, प्रदेशका अधिकार पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने तथा प्रदेशहरूबीच आपसी सहकार्य विस्तार गर्ने उद्देश्यले विराटनगरमा ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ सुरु भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको दुईदिने सम्मेलनमा संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने, साझा समस्या पहिचान गर्ने र समाधानका लागि संयुक्त पहल गर्ने विषयमा छलफल भइरहेको छ।

सम्मेलनको उद्घाटन डिजिटल प्रविधिको प्रयोग गर्दै गरिएको थियो। मुख्यमन्त्रीहरूले अगाडि राखिएको कम्प्युटरको माउस थिचेर स्क्रिनमार्फत संयुक्त रूपमा सम्मेलनको उद्घाटन गरेका हुन्। सम्मेलनमा सुदूरपश्चिम प्रदेशबाहेक छ प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरूको सहभागिता रहेको छ।

उद्घाटन सत्रपछि कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले अवधारणापत्र प्रस्तुत गर्दै प्रदेशहरूले सामना गरिरहेका साझा चुनौती, अधिकार हस्तान्तरणमा देखिएका समस्या तथा आगामी दिनमा सहकार्य गर्न सकिने क्षेत्रबारे सुझाव दिएका थिए।

निरौलाले संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारको पूर्ण प्रयोग र वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशले संघीय सरकारसमक्ष साझा धारणा प्रस्तुत गर्नुपर्नेमा जोड दिए। संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा कानुन निर्माण, संस्थागत संरचना र बजेट प्रणालीमा प्रगति भए पनि प्रदेश निजामती सेवा, प्रहरी समायोजन तथा राजस्व र स्रोत बाँडफाँटजस्ता महत्त्वपूर्ण विषय अझै समाधान हुन नसकेको उनले औंल्याए।

तीन तहका सरकारबीच कार्यक्षेत्र स्पष्ट पार्न, दोहोरोपन हटाउन र संविधानअनुसार प्रदेशले प्राप्त गर्नुपर्ने अधिकारको हस्तान्तरण सुनिश्चित गर्न प्रदेशहरू एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

सम्मेलनमा प्रदेशहरूबीच आर्थिक सम्बन्ध र क्षेत्रीय सहकार्य विस्तार गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ। उपाध्यक्ष निरौलाले अन्तरप्रदेश सहकार्यका पाँच प्रमुख क्षेत्र पहिचान गर्दै कृषि, पर्यटन, पूर्वाधार, विपद् व्यवस्थापन तथा शिक्षा र नवप्रवर्तनमा संयुक्त पहल गर्न प्रस्ताव गरेका छन्।

कृषि क्षेत्रमा उत्पादन, प्रशोधन, भण्डारण, ढुवानी र बजारीकरणलाई जोडेर अन्तरप्रदेशीय कृषि मूल्य शृंखला विकास गर्नुपर्ने उनको सुझाव छ। यसबाट प्रदेशहरूबीच उत्पादनको आदानप्रदान बढाउनुका साथै कृषि क्षेत्रको आर्थिक सम्भावना विस्तार गर्न सकिने अवधारणापत्रमा उल्लेख छ।

त्यसैगरी, हिमाल, पहाड र तराईलाई जोड्ने बहुप्रादेशिक पर्यटन सर्किट तथा धार्मिक पर्यटन सञ्जाल विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ। प्रदेशहरू जोड्ने सडक, आर्थिक करिडोर, हवाई सम्पर्क र डिजिटल पूर्वाधार विस्तारलाई पनि प्राथमिकतामा राख्नुपर्ने निरौलाको भनाइ छ।

जलाधार तथा नदी प्रणालीको संयुक्त व्यवस्थापन, पूर्वसूचना प्रणालीको विकास र साझा विपद् प्रतिकार्य संयन्त्र निर्माणलाई अर्को महत्त्वपूर्ण सहकार्य क्षेत्रका रूपमा प्रस्तुत गरिएको छ। साथै, प्रदेशका विश्वविद्यालय तथा अनुसन्धान संस्थाबीच सहकार्य बढाएर युवा प्रतिभा, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिइएको छ।

निरौलाले सम्मेलनलाई वार्षिक औपचारिकतामा सीमित नराखी स्थायी संस्थागत संरचनाका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्। त्यसका लागि ‘अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मञ्च’ स्थापना, प्रदेश योजना आयोगहरूबीच नियमित प्राविधिक सहकार्य, विषयगत कार्यसमूह गठन तथा निर्णय कार्यान्वयनको अनुगमन संयन्त्र बनाउन प्रस्ताव गरिएको छ।

सम्मेलनको अन्त्यमा प्रदेशहरूका साझा निष्कर्ष र संघीय सरकारसमक्ष प्रस्तुत गरिने माग समेटेर सातै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त हस्ताक्षरसहित ‘कोशी घोषणापत्र २०८३’ जारी गर्ने कार्यसूची रहेको उपाध्यक्ष निरौलाले जानकारी दिएका छन्। घोषणापत्रले संघीयता कार्यान्वयन, अधिकार बाँडफाँट र अन्तरप्रदेश सहकार्यका विषयमा साझा प्रतिबद्धता निर्माण गर्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top