बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा पौडेलले प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई २३२ मतले पछि पार्दै अध्यक्ष पदमा जित हासिल गरेका हुन्।
निर्वाचनमा पौडेलले ८३३ मत प्राप्त गर्दा गैरेले ६०१ मत पाए। संघमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पौडेल अध्यक्षमा निर्वाचित भएसँगै संघको नयाँ नेतृत्वको जिम्मेवारीमा पुगेका छन्।
संघको निर्वाचनमा कुल १ हजार ८११ मतदाता रहेकामा १ हजार ४६६ जनाले मतदान गरेका थिए। उद्योगी तथा व्यवसायीहरूको सहभागितामा सम्पन्न निर्वाचनबाट संघका विभिन्न पदमा नयाँ पदाधिकारी तथा सदस्यहरू चयन भएका छन्।
वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन्। उनले ७२४ मत प्राप्त गर्दै प्रतिस्पर्धी विमलराज भट्टराईलाई पराजित गरे। विमलराजले ६९८ मत प्राप्त गरेका थिए।
त्यसैगरी, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले ७१२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी निर्मित कसजूले ६९३ मत पाए। वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी निर्वाचित भए। उनले ७१९ मत प्राप्त गर्दा प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ७०० मत प्राप्त गरे।
महासचिव पदमा बसन्त ढकाल विजयी भएका छन्। उनले ७१४ मत प्राप्त गर्दै प्रतिस्पर्धी जमुना पौडेललाई पराजित गरे। जमुना पौडेलले ७०२ मत प्राप्त गरिन्। त्यस्तै, कोषाध्यक्षमा टिकाराम बन्जाडे निर्वाचित भएका छन्। बन्जाडेले ७३८ मत प्राप्त गर्दा प्रतिस्पर्धी प्रतीक पोखरेलले ६७३ मत पाए।
सचिव पदमा दिपकप्रसाद चापागाईं ७५२ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी काशिराम शर्मा पौडेलले ६८४ मत प्राप्त गरे। सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली विजयी भइन्। उनले ८६८ मत प्राप्त गर्दा प्रतिस्पर्धी जाकिर हुसेनले ५४२ मत पाए।
एसोसिएट सदस्यमा बालकृष्ण पौडेल निर्वाचित भएका छन्। उद्योग सदस्यतर्फ गोपाल टण्डन, लेखनाथ भण्डारी, सुनिता शर्मा बन्जाडे र ज्ञानबहादुर पुन निर्वाचित भएका छन्। उद्योग सदस्यको मतगणनामा ज्ञानबहादुर पुन र दीपक बास्तोलाले समान ६५६ मत प्राप्त गरेपछि गोलाप्रथामार्फत पुन विजयी घोषित भएका हुन्।
वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भट्टराई, रामबहादुर भण्डारी, सुनिता गिरी र उमेश अमात्य निर्वाचित भएका छन्। खुला सदस्यमा विजयकुमार वर्णवाल, विष्णु घिमिरे पन्थ, विष्णुप्रसाद उपाध्याय, दीपक घिमिरे, गोपालप्रसाद बस्याल र प्रदीप शाक्य निर्वाचित भएका छन्।
महिला सदस्यतर्फ मन्जु पुरी गिरी र रेनु श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार अधिवेशनबाट संघको नयाँ कार्यसमिति चयन भएको हो।


