खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया विवादमा परेको छ । योग्यता, क्षमता र कार्यसम्पादनलाई भन्दा राजनीतिक पहुँच तथा स्वार्थलाई प्राथमिकता दिइएको आरोप लागेपछि नियुक्ति प्रक्रिया विवादित बनेको हो ।
कम्पनीका पूर्वसीईओ रमेश आचार्यले पुनः सीईओ बन्ने प्रतिस्पर्धामा आफू सहभागी भए पनि नियोजित रूपमा सिफारिस सूचीबाट नाम हटाइएको आरोप लगाएका छन् । आफ्नो अघिल्लो कार्यकालमा कम्पनीको सुधारका लागि विभिन्न काम गरेको र सरकारी स्वामित्वको संस्थालाई थप व्यवस्थित बनाउने स्पष्ट योजना हुँदाहुँदै पनि आफूलाई सिफारिसबाट वञ्चित गरिएको उनको गुनासो छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको सिफारिस समितिले सीईओ पदका लागि तनहुँका डिल्लीराज लम्साल, सिरहाकी संगीता यादव र काठमाडौंका होमनाथ न्यौपानेको नाम सिफारिस गरेको छ । अब मन्त्रिपरिषद्ले सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई सीईओ नियुक्त गर्नेछ । शुक्रबार मध्याह्न १२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकले नियुक्तिबारे निर्णय गर्न सक्ने बताइएको छ ।
कम्पनीमा गत वैशाखको तेस्रो सातादेखि सीईओ पद रिक्त छ । सरकारले ल्याएको अध्यादेशका कारण तत्कालीन सीईओ आचार्य पदमुक्त भएका थिए । पद रिक्त भएपछि पुनः नियुक्तिका लागि आवेदन दिएका आचार्यले अन्तर्वार्तासमेत दिएका थिए । सीईओ छनोट समितिले असोज १७ र १८ गते १६ जना उम्मेदवारको अन्तर्वार्ता लिएको थियो ।
स्रोतका अनुसार प्रारम्भिक मूल्याङ्कनमा आचार्यको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरिएको थियो । उक्त नाम प्रधानमन्त्री कार्यालयसम्म पुगेको र मुख्यसचिव गोविन्दबहादुर कार्कीलगायतको तहमा सोहीअनुसार प्रक्रिया अघि बढाउने अनौपचारिक सहमति भएको दाबी गरिएको छ । तर, मन्त्रालयमा फाइल फिर्ता आएपछि सिफारिस सूचीमा फेरबदल गरिएको आरोप लागेको छ ।
मन्त्रालयले अन्तिम सिफारिस सूची सार्वजनिक गर्दा आचार्यको नाम हटाएर संगीता यादवलाई समावेश गरेको आरोप छ । विभागीय मन्त्री दीपककुमार साहको स्वार्थ र निकटताका आधारमा सूची परिवर्तन गरिएको दाबीसमेत गरिएको छ । यद्यपि, सिफारिस प्रक्रियामा अनियमितता भएको भन्ने आरोपबारे सम्बन्धित निकायबाट औपचारिक पुष्टि भएको छैन ।
सिफारिसमा परेका लम्सालले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ३६ वर्ष सेवा गरेका छन् । उनले कम्पनीमा निमित्त सीईओको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उमेर हदका कारण गत भदौ १० गते अवकाश पाएका लम्साललाई पुनः सीईओ पदको प्रतिस्पर्धामा सहभागी गराइएको हो ।
त्यस्तै, होमनाथ न्यौपानेले विगतमा नेबिको कम्पनीको नेतृत्व सम्हालेका थिए । उनको नेतृत्वकालमा संस्थाको आर्थिक अवस्था कमजोर बनेपछि उनले जागिर छाडेको विवरण समाचारमा उल्लेख गरिएको छ ।
अर्की सिफारिस उम्मेदवार संगीता यादव जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडसँग आबद्ध रहेकी छन् । तीन जनाको नाम सिफारिस भएसँगै नियुक्ति प्रक्रियामा पारदर्शिता र निष्पक्षताको प्रश्न उठेको छ ।
सिफारिस सूचीमा चलखेल भएको आरोपबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले प्रतिक्रिया दिन चाहेनन् । मुख्यसचिव गोविन्दबहादुर कार्कीले भने सीईओका लागि तीन जनाको नाम प्राप्त भएको जानकारी दिँदै ती नाममाथि मन्त्रिपरिषद्मा छलफल गरेर निर्णय गरिने बताएका छन् ।


