बडादसैँको बिदालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई सीमित गर्ने भएको छ । विभागले अष्टमीसम्म अनुगमनलाई निरन्तरता दिए पनि फूलपाती र अष्टमीका दिन भने काठमाडौं उपत्यकामा दैनिक दुईवटा टोली मात्रै परिचालन गर्ने जनाएको छ ।
विभागका अनुसार महानवमीदेखि टीकाको भोलिपल्टसम्म बजार अनुगमन पूर्ण रूपमा स्थगित हुनेछ । त्यसपछि भने नियमित रूपमा बजार अनुगमनको काम पुनः सुरु गरिनेछ ।
विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार दसैँको बिदा सुरु भएसँगै कर्मचारीहरू घर जाने भएकाले अनुगमनमा खटिने टोलीको सङ्ख्या घटाइएको हो । सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक १० वटा टोली परिचालन गरी बजार अनुगमन गरिँदै आएको थियो । तर, चाडपर्वको बिदाका कारण फूलपाती र अष्टमीमा आलोपालो प्रणाली अपनाएर दैनिक दुईवटा टोली मात्रै खटाइनेछ ।
सूचना अधिकारी किराँतीले कर्मचारी बिदामा जाने भएकाले अनुगमन टोलीको सङ्ख्या घटाउनुपरेको बताए । उनका अनुसार महानवमीदेखि टीकाको भोलिपल्टसम्म भने कुनै पनि अनुगमन टोली परिचालन हुने छैनन् ।
दसैँको समयमा बजारमा खाद्यान्न, लत्ताकपडा, फलफूल, तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको कारोबार बढ्ने गर्छ । उपभोक्ताको चाप बढ्ने यही समयमा बजारमा मूल्यवृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका वस्तुको बिक्री तथा गुणस्तरहीन सामानको कारोबार हुन सक्ने जोखिम पनि रहन्छ ।
यस्तो अवस्थामा बजार अनुगमनको प्रभावकारिता उपभोक्ताको हित संरक्षणका लागि महत्त्वपूर्ण मानिन्छ । तर, चाडपर्वको मुख्य समयमा अनुगमन टोलीको सङ्ख्या घट्नु र केही दिन पूर्ण रूपमा अनुगमन रोकिनुले बजारमा हुन सक्ने अनियमितता नियन्त्रण गर्ने चुनौती बढाउन सक्छ ।


