महँगी र विद्यालयहरूको दयनीय अवस्थाविरुद्ध फ्रान्समा शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ। देशका विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा व्यापक तोडफोड, आगजनी तथा लुटपाटका घटना भएका छन्। फ्रान्सेली सरकारका अनुसार प्रदर्शनमा देशभर करिब पाँच लाख ५० हजार मानिस सहभागी भएका थिए। प्रदर्शनका क्रममा प्रहरीले कम्तीमा एक हजार दुई सय जनालाई पक्राउ गरेको छ। राजधानी पेरिससहित विभिन्न सहरमा भएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। झडपका क्रममा प्रहरीतर्फ पनि ठूलो क्षति पुगेको छ।
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रदर्शनका क्रममा १५० जना प्रहरी घाइते भएको जानकारी दिएका छन्। प्रदर्शनकारीको आक्रोश बढ्दै जाँदा विभिन्न सार्वजनिक भवन, पसल तथा व्यावसायिक प्रतिष्ठानहरू निशानामा परेका थिए। लिमोज सहरको टाउन हलमा भीषण आगलागी हुँदा भवनको छानाको एक भाग भत्किएको छ। राजधानी पेरिसलगायत अन्य क्षेत्रमा पनि भवन तथा सवारीसाधनमा आगजनी गरिएको थियो। प्रदर्शनकारीका केही समूहले पसलहरूमा लुटपाट गर्नुका साथै व्यापक तोडफोड गरेका थिए।
पेरिसमा दिउँसो आयोजित र्याली अधिकांश समय शान्तिपूर्ण रहेको थियो। प्रदर्शनमा सहभागी युवाहरूको एउटा समूहले बीबीसीसँग कुरा गर्दै आफूहरू शान्तिपूर्ण प्रदर्शनकारी भएको बताएको थियो। उनीहरूले देशमा परिवर्तनको माग गर्दै सडकमा उत्रिए पनि आफूहरूको आवाज सुनुवाइ नभएको गुनासो गरेका थिए। प्रदर्शनकारी युवाहरूका अनुसार उनीहरू सामाजिक तथा आर्थिक अवस्थामा सुधारको अपेक्षासहित आन्दोलनमा सहभागी भएका हुन्। तर, उनीहरूले परिवर्तनका लागि गरिएका प्रयासले अपेक्षित परिणाम दिन नसकेको बताएका थिए।
यद्यपि, साँझ पर्दै जाँदा प्रदर्शनको अवस्था तनावपूर्ण बन्दै गएको थियो। केही समूहले सडकमा आगजनी गर्न थालेपछि स्थिति नियन्त्रणबाहिर जान थालेको थियो। प्रदर्शनकारीले विभिन्न सवारीसाधनमा आगो लगाएका थिए भने पेरिसको प्रमुख सार्वजनिक स्थल प्लास द ला रिपब्लिक आसपास पनि आगजनीका घटना भएका थिए। मध्य पेरिसमा दङ्गा नियन्त्रण प्रहरी प्रदर्शनकारीको भीडतर्फ अघि बढ्दै गरेको र केही व्यक्तिमाथि लाठी प्रहार गरेको दृश्यसमेत देखिएको थियो। प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न समूहलाई नियन्त्रणमा लिन खोज्दा विभिन्न स्थानमा झडप भएको थियो।
महँगी र विद्यालयहरूको कमजोर अवस्थालाई लिएर सुरु भएको प्रदर्शनले फ्रान्समा बढ्दो सामाजिक असन्तुष्टिलाई उजागर गरेको छ। ठूलो संख्यामा नागरिक सडकमा उत्रिनु र आन्दोलन हिंसात्मक बन्नुले सरकारसामु सार्वजनिक सेवा सुधार तथा नागरिकका आर्थिक समस्यालाई सम्बोधन गर्ने चुनौती थपिएको छ।


