Banijya News

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, उपत्यका छाड्नेको सङ्ख्या ४ लाख नाघ्यो

1
1.0K Shares

नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू दसैँ मनाउन आफ्नो जन्मथलो फर्किन थालेपछि नयाँ बसपार्कसहित उपत्यकाका प्रमुख बसपार्क र नाकाहरूमा यात्रुको चहलपहल बढेको हो।

गोँगबुस्थित नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायतका क्षेत्रमा घर जाने यात्रुको भीड देखिन थालेको छ। दसैँ मनाउन राजधानी छाड्ने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सक्रियता बढाएको छ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार उपत्यकाभित्रका बसपार्क तथा विभिन्न नाकामा घर फर्किने यात्रुको चाप बढेको छ। यात्रुको आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले आवश्यक व्यवस्थापन गरिरहेको उनले बताए।

कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म चार लाख २३ हजार ६६४ जना यात्रुले काठमाडौं उपत्यका छाडिसकेका छन्। दसैँ नजिकिँदै जाँदा राजधानीबाट बाहिरिने यात्रुको सङ्ख्या दैनिक रूपमा उल्लेख्य देखिएको छ।

उपत्यका ट्राफिक कार्यालयको विवरणअनुसार असोज २५ गते ५२ हजार ८२७ जना, असोज २६ गते ५६ हजार ८०९ जना र असोज २७ गते ७८ हजार १३८ जना यात्रु बाहिरिएका थिए। त्यसैगरी, असोज २८ गते ७४ हजार ९७९ जना, असोज २९ गते ८५ हजार ५६१ जना र असोज ३० गते ७५ हजार ३५० जना यात्रुले राजधानी छाडेका थिए।

उक्त विवरणअनुसार असोज २९ गते सबैभन्दा धेरै ८५ हजार ५६१ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। दसैँका लागि घर फर्किने क्रम बढेसँगै आगामी दिनमा पनि बसपार्क र प्रमुख सडकमा यात्रुको चाप कायम रहने अनुमान गरिएको छ।

दसैँ मनाउन यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती तथा ललितपुरको भट्टेडाँडालगायतका नाका हुँदै उपत्यकाबाहिर गइरहेका छन्। यी नाकाबाट विभिन्न जिल्ला जाने यात्रुहरूको आवागमन भइरहेको छ।

यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीले पनि सवारीसाधन व्यवस्थापनमा ध्यान दिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण केही समस्या भए पनि सम्बन्धित निकायसँग समन्वय गरेर बसको व्यवस्थापन गरिरहेको बताए।

दसैँमा यात्रुको चाप बढ्ने भएकाले सहज र सुरक्षित यात्राका लागि सवारीसाधनको उचित व्यवस्थापन, ट्राफिक नियन्त्रण तथा सडकको अवस्थाबारे समयमै जानकारी उपलब्ध गराउनु आवश्यक देखिएको छ।

1

Scroll to Top