वर्षमा एकपटक महानवमीका दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि खुला गरिएको छ। मन्दिर खुलेसँगै बिहानैदेखि पूजा, आराधना तथा दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ।
वर्षमा एक दिन मात्रै दर्शन गर्न पाइने भएकाले भक्तजनहरू बिहानैदेखि मन्दिर परिसरमा लामबद्ध भएका छन्। महानवमीका दिन तलेजु भवानीको दर्शन गर्नाले धार्मिक पुण्य प्राप्त हुने जनविश्वासका कारण पनि मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।
भक्तजनलाई सहज र व्यवस्थित रूपमा दर्शन गराउने आवश्यक तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। मन्दिर आज बेलुका ६ बजेसम्म सर्वसाधारणका लागि खुला रहने अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन्।
तलेजु भवानीलाई फूलपातीका दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो। विजयादशमीका दिन बिहान मात्रै देवीलाई पुनः मूल मन्दिरमा फर्काइने जनाइएको छ। दशैँको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको तलेजु भवानी मन्दिरमा हरेक वर्ष महानवमीका दिन विशेष पूजा र दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्दछ।


