Banijya News

फ्रान्समा हिंसात्मक प्रदर्शनबाट अर्बौँको क्षति, आन्दोलनकारीबाटै क्षतिपूर्ति असुल्ने सरकारको घोषणा

1
1.0K Shares

फ्रान्समा हिंसात्मक प्रदर्शन, आगजनी, तोडफोड र व्यापक लुटपाटका कारण ठूलो आर्थिक क्षति भएपछि सरकारले हिंसामा संलग्न व्यक्तिहरूबाटै क्षतिपूर्ति असुल्ने कडा नीति अघि सारेको छ। दङ्गाबाट प्रभावित व्यवसाय, व्यापारिक प्रतिष्ठान र सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि विशेष कोष स्थापना गर्ने तथा त्यसको खर्च दोषीबाटै भराउने सरकारले घोषणा गरेको हो। बीबीसीका अनुसार प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सोमबार आयोजित आपत्कालीन बैठकपछि सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने व्यक्तिलाई कानुनी कारबाहीबाट उम्किन नदिने बताएका छन्। उनले क्षतिग्रस्त क्षेत्रको पुनःस्थापना र प्रभावित व्यवसायको पुनरुत्थानका लागि सरकारले आवश्यक व्यवस्था गर्ने स्पष्ट पारे।

प्रधानमन्त्री लेकोर्नुले सम्पत्तिमा क्षति पुर्‍याउनेले त्यसको भर्पाई गर्नुपर्ने व्यवस्था सुनिश्चित गर्न नयाँ कानुन ल्याउने तयारी भइरहेको बताए। उनका अनुसार सरकारी कोषबाट तत्काल राहत उपलब्ध गराइए पनि त्यसको आर्थिक भार अन्ततः हिंसामा संलग्न व्यक्तिहरूबाट असुल गरिनेछ। फ्रान्सको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका अनुसार प्रदर्शनका क्रममा दुई हजारभन्दा बढी पसल तथा व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्। तोडफोड र लुटपाटका कारण व्यवसायीले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको छ। क्षतिको विवरण संकलन तथा प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

अनलाइनमा लुटिएका सामानको बिक्री, निगरानी कडा

हिंसात्मक घटनाका क्रममा लुटिएका उपभोग्य तथा बहुमूल्य सामान विभिन्न अनलाइन बिक्री प्लेटफर्ममा राखेर कारोबार भइरहेको भेटिएपछि सरकारले निगरानी बढाएको छ। फ्रान्सेली मन्त्रीहरूले लुटपाटबाट प्राप्त सामानको अनलाइन बिक्रीसमेत गैरकानुनी गतिविधि भएकाले त्यसमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने बताएका छन्। प्रदर्शनका क्रममा हालसम्म दुई हजार पाँच सयभन्दा बढी व्यक्ति पक्राउ परिसकेको विवरण सार्वजनिक भएको छ। झडपमा करिब एक हजार प्रहरी अधिकारी घाइते भएका छन्। एक प्रदर्शनकारीको हात प्रहरीबाट प्रहार गरिएको ग्रेनेडका कारण गम्भीर रूपमा क्षतिग्रस्त भएको जनाइएको छ।

म्याक्रोनको चेतावनी : दोषीलाई उन्मुक्ति दिइने छैन

राष्ट्रपति इम्यानुएल म्याक्रोनले पनि राष्ट्रका नाममा सम्बोधन गर्दै तोडफोड र लुटपाटमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएका छन्। उनले सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउनेले त्यसको क्षतिपूर्ति तिर्नुपर्नेमा जोड दिएका छन्। पेरिस, मार्से, लियोन र लिमोजलगायतका प्रमुख सहरमा मुखुण्डो लगाएका समूहले भवनमा आगजनी, सार्वजनिक पूर्वाधारमा आक्रमण र व्यापारिक प्रतिष्ठानमा लुटपाट गरेका थिए। लिमोजमा १९औँ शताब्दीको ऐतिहासिक टाउन हलमा आगलागी हुँदा छानो र घडी टावरमा क्षति पुगेको छ। मार्से र लियोनमा सरकारी कार्यालय तथा पर्यटन केन्द्रसमेत तोडफोडको निशानामा परेका छन्।

राष्ट्रपति म्याक्रोनले हिंसामा अति वामपन्थी समूह तथा आपराधिक तत्त्वको संलग्नता रहेको आरोप लगाएका छन्। तर उनले शान्तिपूर्ण प्रदर्शनकारीका जायज माग र हिंसात्मक गतिविधिबीच स्पष्ट भिन्नता छुट्याउनुपर्ने बताएका छन्। विद्यालयको अवस्था सुधारको माग गर्दै विद्यार्थीबाट सुरु भएको आन्दोलनमा पछि मजदुर युनियन तथा विभिन्न सङ्घसंस्थाको सहभागिता बढ्दै गएको बताइएको छ। बढ्दो राजनीतिक तनावबीच सरकारले विद्यार्थी, शिक्षक, मजदुर युनियनका प्रतिनिधि र अन्य सरोकारवालासँग छलफल गरी जायज माग सम्बोधन गर्ने जनाएको छ। साथै, सार्वजनिक भवन तथा व्यावसायिक प्रतिष्ठानको सुरक्षा मजबुत बनाउन स्थानीय प्रशासन र प्रहरीलाई थप सक्रिय हुन निर्देशन दिइएको छ।

1

Scroll to Top