Banijya News

जुम्लाबाट ७ हजार ३३० मेट्रिकटन स्याउ निर्यात, ५५ करोडको कारोबार

1
1.0K Shares

हिमाली जिल्ला जुम्लामा उत्पादित स्याउले बजार पाउन थालेपछि किसान तथा व्यापारी उत्साहित भएका छन् । चालु वर्ष जिल्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ । स्थानीय उत्पादनले बजार विस्तार गर्दै लगेपछि यस वर्ष स्याउबाट करिब ५५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा यस वर्ष करिब १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन भएको छ । उत्पादित स्याउमध्ये ठूलो परिमाण बाहिरी जिल्लामा बिक्रीका लागि पठाइएको हो । कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार किसानले स्थानीय बगैँचाबाट प्रतिकेजी न्यूनतम ७५ रुपैयाँमा स्याउ बिक्री गरिरहेका छन् । स्याउको माग र बिक्री बढ्दै गएकाले कारोबार रकमसमेत बढ्ने अपेक्षा गरिएको छ । जुम्लामा स्याउ खेती स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको छ । जिल्लाका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमा निर्भर रहेको कृषि विकास कार्यालयले जनाएको छ । स्याउ उत्पादन र बिक्रीबाट किसानले आम्दानी गर्दै आएका छन् भने यसको व्यापारले स्थानीय बजारमा समेत आर्थिक गतिविधि बढाएको छ ।

सामूहिक खेतीबाट पनि लाखौँको कारोबार

तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामूहिक स्याउ खेती हुँदै आएको छ । उक्त क्षेत्रबाट यस वर्ष ३४ मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयका प्रमुख अधिकारीका अनुसार सोही उत्पादनबाट करिब ३० लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको छ । जुम्लामा हाल करिब चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । स्याउ खेतीलाई थप विस्तार गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी क्षेत्रफलमा नयाँ खेती विस्तार गर्ने लक्ष्य कार्यालयले लिएको छ ।

फुजीसहित विभिन्न जातका स्याउ उत्पादन

जुम्लामा स्थानीय जातका स्याउसँगै उच्च मूल्यमा बिक्री हुने फुजी जातको स्याउ खेतीसमेत विस्तार भइरहेको छ । कृषि विकास कार्यालयका अनुसार फुजी स्याउ ५२ हेक्टर क्षेत्रफलमा लगाइएको छ । यस वर्ष भने ४९ हेक्टर क्षेत्रफलमा मात्र फुजी स्याउ फलेको छ । जिल्लामा रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन र स्पोरलगायत विभिन्न जातका स्याउ उत्पादन हुँदै आएका छन् । केही व्यापारीले स्याउ कोल्ड स्टोर तथा घरमै भण्डारण गरेर राखेकाले आगामी दिनमा निर्यातको परिमाण र कारोबार रकम अझै बढ्न सक्ने कार्यालयको अनुमान छ ।

बजार पाएपछि किसानमा उत्साह

यस वर्ष भारतबाट नेपाल आउने स्याउ बन्द भएपछि नेपाली बजारमा जुम्लाको स्याउले राम्रो अवसर पाएको व्यवसायीले बताएका छन् । स्थानीय उत्पादनको माग बढेसँगै किसान र व्यापारीलाई बिक्री गर्न सहज भएको छ । हिमा गाउँपालिकाकी स्थानीय स्याउ व्यापारी माया रोकायाले जुम्लाबाट एक हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरेको जानकारी दिइन् । उनका अनुसार बाहिरी जिल्लामा जुम्ली स्याउको बजार राम्रो रहेकाले व्यापार विस्तारको सम्भावना बढेको छ ।

1

Scroll to Top