नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत विजयादशमी आज हर्षोल्लासका साथ मनाइँदै छ । आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वमा मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका, जमरा र प्रसाद ग्रहण गरी आशीर्वाद लिने परम्परा छ । दसैँको मुख्य दिनका रूपमा रहेको विजयादशमीमा घरघरमा स्थापना गरिएको दसैँघर तथा पूजाकोठामा नौ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएका देवीको प्रसाद ग्रहण गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा र पूजा गरिएको कलशको जलबाट अभिषेक गरी मान्यजनको हातबाट टीका लगाउने चलन छ । टीका लगाउन शुभसाइत खोज्नेहरूका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान १० बजेर २६ मिनेटको समय उत्तम रहेको जनाएको छ । यद्यपि, विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन अनिवार्य रूपमा साइत पर्खनु नपर्ने समितिको भनाइ छ ।
राज्य सञ्चालकहरूले भने शुभसाइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको छ । शुभसाइतमा टीका ग्रहण गर्दा देवीको कृपा, शक्ति, उत्साह र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास गरिन्छ । विजयादशमीमा रातो टीका र जमरा लगाउनुको धार्मिक तथा सांस्कृतिक महत्त्व छ । रातो टीकालाई शुभसाइत र विजयको प्रतीकका रूपमा लिइन्छ भने जमरालाई समृद्धि, सुख र उन्नतिको प्रतीक मानिन्छ । घटस्थापनाका दिन वैदिक विधिअनुसार राखिएको जौको जमरा दसैँको मुख्य प्रसादका रूपमा प्रयोग गरिन्छ ।
दसैँमा मान्यजनबाट टीका लगाउँदा गुरु पुरोहित, हजुरबा, हजुरआमा, बुबा, आमा तथा अन्य अग्रजबाट सुख, शान्ति, समृद्धि, दीर्घायु र सफलताको आशीर्वाद लिने गरिन्छ । यस अवसरमा परिवारका सदस्य तथा आफन्तबीच भेटघाट हुने भएकाले पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई समेत बलियो बनाउने विश्वास गरिन्छ ।
विजयादशमी असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक हो । धार्मिक मान्यताअनुसार त्रेतायुगमा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा विजयादशमी मनाउन थालिएको हो । त्यसैले यस दिनलाई विजय, साहस र सकारात्मक परिवर्तनको प्रतीकका रूपमा लिइन्छ । टीका लगाउँदा पुरुषलाई दीर्घायु, ऐश्वर्य, बल, ज्ञान, दानशीलता र कीर्ति प्राप्त होस् भन्ने कामनासहित परम्परागत मन्त्रबाट आशीर्वाद दिने चलन छ । महिलालाई दुर्गा भवानीका विभिन्न स्वरूपको स्मरण गर्दै पूजा र सम्मान प्रकट गर्ने मन्त्रबाट आशीर्वाद दिने परम्परा छ ।
दसैँमा प्रयोग गरिने जमराको औषधीय गुणबारे पनि चर्चा हुने गरेको छ । आयुर्वेदमा जमराको रसलाई स्वास्थ्यका लागि उपयोगी मानिए पनि यसको सेवनले रोग निको पार्ने वा रोग प्रतिरोधात्मक क्षमता बढाउने विषयमा वैज्ञानिक प्रमाणलाई आधार मान्नुपर्ने चिकित्सकहरू बताउँछन् । आज टीका लगाउन नभ्याउनेहरूले पनि परम्पराअनुसार कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सक्छन् । नेपालका केही समुदायमा भने कुल र पारिवारिक परम्पराअनुसार विजयादशमीकै दिन मात्र टीका लगाउने चलन छ । अधिकांश स्थानमा पूर्णिमासम्म टीका लगाएर दसैँ मनाउने गरिन्छ ।
विजयादशमीमा पुरुषलाई टीका लगाउँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।


