राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्दै निराशाबाट आशा र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
विजयादशमी २०८३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको शुभकामना दिएका हुन् ।
उनले यस वर्षको दसैँ विगतका वर्षहरूभन्दा फरक परिस्थितिमा मनाउनुपरेको उल्लेख गर्दै विपत्तिका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, आफ्ना प्रियजन गुमाएका शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
विपत्तिका कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित हुनुपरेको अवस्थाले नेपाली समाजलाई गहिरो पीडा दिएको उनको भनाइ छ । यस्तो कठिन परिस्थितिमा मनाइने दसैँले पीडित परिवारलाई दुःख सहने शक्ति प्रदान गर्नुका साथै समग्र समाजमा आपसी सहयोग, सद्भाव र एकताको भावना थप मजबुत बनाउने उनले विश्वास व्यक्त गरेका छन् ।
असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको बडादसैँ नेपालीहरूको महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो । यस पर्वले अन्याय, अत्याचार र नकारात्मक प्रवृत्तिविरुद्ध उभिन प्रेरणा दिने उल्लेख गर्दै लामिछानेले दसैँलाई सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने सन्देश दिएका छन् ।
उनले नवदुर्गा भवानीले सबै नेपालीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति तथा सद्बुद्धि प्रदान गरून् भन्ने कामनासमेत गरेका छन् । देशले सामना गरिरहेका चुनौती र सङ्कटसँग जुध्न सबै नागरिकमा साहस, धैर्य र जिम्मेवारीबोध आवश्यक रहेको उनको सन्देश छ ।
विपत्तिपछिको पुनर्निर्माण र प्रभावित नागरिकको जीवनलाई सामान्य अवस्थामा फर्काउने कार्यमा सामूहिक प्रयास आवश्यक हुने सन्दर्भमा लामिछानेले दसैँले नयाँ आशा र उत्साह जगाउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार चाडपर्वले परिवार तथा आफन्तबीचको सम्बन्ध मात्र नभई समाजका विभिन्न समुदायबीचको आत्मीयता र सहकार्यलाई पनि बलियो बनाउन मद्दत गर्छन् ।
यस वर्षको दसैँलाई दुःख र शोकमा सीमित नराखी एकअर्काको पीडा बुझ्ने, प्रभावित परिवारलाई सहयोग गर्ने र राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढ्ने अवसरका रूपमा लिनुपर्ने सन्देश उनको शुभकामनामा झल्किएको छ ।
सभापति लामिछानेले दसैँले नेपाली समाजलाई थप एकताबद्ध बनाउँदै कठिन परिस्थितिबाट बाहिर निस्कन र उज्ज्वल भविष्य निर्माण गर्न प्रेरणा दिने अपेक्षा व्यक्त गरेका छन् ।


