Banijya News

भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन प्रधानमन्त्री शाहको आग्रह

1
1.0K Shares

प्रधानमन्त्री वालेन्द्र शाहले विजयादशमीले नेपालको भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधताबीच रहेका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले चाडपर्वले आपसी सद्भाव, प्रेम र भाइचाराको सम्बन्धलाई बलियो बनाउँदै राष्ट्रिय एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो ।

विजयादशमीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । उहाँले दसैँले लामो समयदेखि टाढिएका साथीभाइ, आफन्त र परिवारका सदस्यसँग भेटघाट गरी आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले विजयादशमीको सन्देशलाई वर्तमान सामाजिक तथा राजनीतिक परिस्थितिसँग जोड्दै भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ ।”

प्रधानमन्त्री शाहका अनुसार यस्ता विकृति र विसङ्गति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक हुन्छ । परिवर्तनका लागि सोचमा सुधार ल्याउनुका साथै व्यवहारमा समेत सकारात्मक परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । नागरिकले सरकार आफ्नो साथमा रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश उहाँले दिनुभएको छ ।

विजयादशमी असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने पर्व हो । पौराणिक मान्यताअनुसार यही दिन दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गर्नुभएको थियो भने भगवान् रामले रावणको अन्त्य गरी सत्यको विजय स्थापित गर्नुभएको धार्मिक विश्वास छ ।

प्रधानमन्त्री शाहले विजयादशमीको अवसरमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले परिवार तथा आफन्तबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गर्नुभएको छ । टाढा रहनुभएका मान्यजनलाई समेत खोजीखोजी भेट्न जाने चलनले नेपाली समाजमा आपसी सम्मान र आत्मीयताको महत्त्व दर्शाउने उहाँको भनाइ छ ।

उहाँले विजयादशमीले मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ । धार्मिक तथा सांस्कृतिक पर्वको वास्तविक सन्देशलाई व्यवहारमा उतार्दै समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

प्रधानमन्त्री शाहले सबै नेपालीलाई आआफ्नो स्थान र क्षमताअनुसार विजयादशमी मनाउँदै आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार यस्ता पर्वले सामाजिक सम्बन्धलाई मजबुत बनाउनुका साथै समृद्ध, न्यायपूर्ण र एकताबद्ध राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गर्छन् ।

1

Scroll to Top