बलिउड अभिनेता आयुष्मान खुराना र अभिनेत्री सारा अली खान अभिनीत हिन्दी चलचित्र ‘उड्ता तीर’लाई नेपालमा सार्वजनिक प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्रको आधिकारिक वितरक नेसनल सिने ग्रुपलाई पत्र पठाउँदै फिल्म प्रदर्शनका लागि अनुमति दिन नसकिने स्पष्ट पारेको हो।
आकाश कौशिकको निर्देशनमा निर्माण भएको उक्त चलचित्र यही शुक्रबारदेखि नेपालका सिनेमा घरमा प्रदर्शन गर्ने तयारी गरिएको थियो। तर, चलचित्रको विषयवस्तु नेपालको प्रचलित कानुनले निषेध गरेको विषयसँग सम्बन्धित रहेको भन्दै मन्त्रालयले प्रदर्शन अनुमति अस्वीकार गरेको जनाएको छ।
मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८ को उपदफा (३) लाई आधार बनाउँदै फिल्म प्रदर्शन गर्न अनुमति दिन नसकिने जानकारी दिएको हो। उक्त कानुनी व्यवस्थाले नेपालको सुरक्षा, शान्ति तथा व्यवस्थामा असर पु¥याउन सक्ने र मित्रराष्ट्रसँगको सम्बन्धमा खलल पार्ने प्रकृतिका चलचित्रको प्रदर्शनलाई निरुत्साहित गर्ने व्यवस्था गरेको छ।
ऐनमा कुनै चलचित्र वा त्यसको कुनै भागले नेपालको सुरक्षा, शान्ति र व्यवस्थामा असर पार्ने अथवा मित्रराष्ट्रसँगको सम्बन्ध तथा विभिन्न वर्ग वा जातिबीचको सुसम्बन्धमा खलल पु¥याउने देखिएमा चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिन नहुने उल्लेख छ। मन्त्रालयले यही कानुनी व्यवस्थाअनुसार ‘उड्ता तीर’लाई नेपालमा सार्वजनिक प्रदर्शनको अनुमति दिन नसकिएको जनाएको हो।
स्पाई–कमेडी अर्थात् जासुसी र हास्य विधामा आधारित ‘उड्ता तीर’ निर्देशक आकाश कौशिकको पहिलो फिचर चलचित्र हो। धर्मा प्रोडक्सन्स र सिख्या इन्टरटेन्मेन्टले संयुक्त रूपमा निर्माण गरेको यस चलचित्रमा जासुसी अभियान, स्मृति गुमाउने घटना र देशभक्तिसँग सम्बन्धित कथालाई समेटिएको छ।
चलचित्रमा आयुष्मान खुरानाले पाकिस्तानी जासुस बिलाल अहमदको मुख्य भूमिका निर्वाह गरेका छन्। कथाअनुसार बिलाललाई एउटा विशेष गुप्त अभियानका लागि भारत पठाइन्छ। तर, अभियानकै क्रममा अप्रत्याशित दुर्घटना भएपछि उनको स्मरणशक्ति गुम्छ।
स्मरणशक्ति गुमाएपछि बिलालले आफू को हो भन्ने वास्तविकता बिर्सन्छन्। त्यसपछि उनी आफूलाई भारतीय प्रतिआतङ्कवाद अधिकारी ठान्न थाल्छन्। आफूलाई भारतीय सुरक्षाकर्मी सम्झिएर उनी देशभक्तिको भावनासहित विभिन्न गतिविधिमा संलग्न हुन्छन्। यही परिस्थितिबाट चलचित्रमा हास्य र जासुसी घटनाक्रम विकसित हुँदै जाने कथा प्रस्तुत गरिएको छ।
चलचित्रको कथावस्तु र पात्रको पृष्ठभूमि नेपालमा प्रदर्शन अनुमति नपाउनुको प्रमुख आधार बनेको मन्त्रालयको पत्रबाट देखिन्छ। यद्यपि, मन्त्रालयले फिल्मका कुन–कुन दृश्य वा संवादलाई आपत्तिजनक ठहर गरेको हो भन्ने विस्तृत विवरण सार्वजनिक जानकारीमा उल्लेख गरिएको छैन।
नेपालमा विदेशी चलचित्र प्रदर्शन गर्नुअघि प्रचलित कानुन र चलचित्र जाँचसम्बन्धी व्यवस्थाको पालना गर्नुपर्ने हुन्छ। कानुनले निषेध गरेका विषयवस्तु समेटिएको ठहर भएमा सम्बन्धित निकायले चलचित्रको सार्वजनिक प्रदर्शन रोक्न सक्ने व्यवस्था छ।


