Banijya News

साउदी अरबमा ड्रोन आक्रमणबाट नेपालीको मृत्यु भएपछि कांग्रेसद्वारा दुःख व्यक्त

1
1.0K Shares

नेपाली कांग्रेसले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषका कारण एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा यस दुःखद घडीमा शोकसन्तप्त परिवारलाई पीडा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ।

कांग्रेसले निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य–मान्यताविपरीत भएको उल्लेख गर्दै यस्ता घटनाको निन्दा र भर्त्सना गरेको छ।

नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्त दुःखद र चिन्ताजनक भएको कांग्रेसको भनाइ छ।

कांग्रेस सभापति गगनकुमार थापाले अनाहकमा एक नेपाली नागरिकको ज्यान गुम्नु अत्यन्त दुःखद भएको बताउँदै साउदी अरबमा कार्यरत नेपालीको सुरक्षाका लागि थप गम्भीर पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

कार्यवाहक मुख्यसचिव दुलालका अनुसार सभापति थापाले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन र आवश्यक परेमा साउदी अरबमा रहेका नेपाली नागरिकको उद्धारको प्रबन्ध मिलाउनसमेत सरकारसँग आग्रह गरेका छन्।

साउदी अरबमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारले आवश्यक कूटनीतिक तथा सुरक्षासम्बन्धी पहल गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ।

यसअघि साउदी अरबको सायबाह तेल क्षेत्रमा ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले अवरोध गर्ने क्रममा खसेको भग्नावशेषका कारण ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी हुँदा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

घटनामा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन् भने मृत्यु भएका नेपाली नागरिकको परिचय सार्वजनिक भएको छैन।

साउदी अधिकारीहरूका अनुसार उक्त घटनाले तेल क्षेत्रको सञ्चालनमा भने कुनै असर पारेको छैन।

1

Scroll to Top