Banijya News

नेपाल-भारत पर्यटन सहकार्य विस्तार गर्न कात्तिक ९ देखि क्रस बोर्डर टुरिजम कनेक्ट

1
1.1K Shares

नेपाल र भारतबीच पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यसहित कात्तिक ९ देखि ११ गतेसम्म ‘नेपाल-भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ कार्यक्रम आयोजना हुने भएको छ। तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमले दुई देशका पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्नुका साथै नेपालको पर्यटनलाई भारतीय बजारमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो। ‘सीमा जोड्दै, मित्रता बढाउँदै, पर्यटन प्रवर्द्धन गर्दै’ भन्ने नाराका साथ आयोजना हुन लागेको कार्यक्रमले नेपालका पर्यटकीय गन्तव्यलाई भारतीय पर्यटन बजारसँग जोड्ने लक्ष्य राखेको छ।

कार्यक्रमका संयोजक एवं एनआरएनए आइसिसीका प्रवक्ता सोमनाथ सापकोटाका अनुसार भारतीय पर्यटकमाझ नेपालको पर्यटनको प्रभावकारी प्रचारप्रसार गर्ने, नेपाली तथा भारतीय पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापना गर्ने र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

उनले भारतीय पर्यटकलाई नेपालका धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटन गन्तव्यसम्म आकर्षित गर्न सके नेपालको पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्न सकिने बताए। नेपालमा रहेका विविध पर्यटकीय सम्पदाको उचित प्रवर्द्धन र भारतीय पर्यटन व्यवसायीसँग सहकार्य गर्न सके पर्यटक आगमन बढाउन सहयोग पुग्ने उनको भनाइ छ।

सापकोटाका अनुसार पर्यटन प्रवर्द्धनका लागि प्रचार सामग्री वितरण गर्नु मात्र पर्याप्त हुँदैन। भारतीय पर्यटन व्यवसायीलाई नेपालका पर्यटकीय गन्तव्यको प्रत्यक्ष अवलोकन गराउने, होटल तथा रिसोर्ट सञ्चालकसँग भेटघाट गराउने, उपलब्ध सेवा तथा सुविधाबारे जानकारी दिने र व्यावसायिक साझेदारीका आधार तयार गर्नु आवश्यक छ। यही उद्देश्यलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गर्न लागिएको उनले स्पष्ट पारे।

कार्यक्रममा भारतका विभिन्न सहरबाट २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले नेपाली पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक र स्थानीय पर्यटन सरोकारवालासँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमअन्तर्गत व्यावसायिक भेटघाट, परिचयात्मक भ्रमण, पर्यटन प्याकेज निर्माण र भविष्यमा दुई देशबीच पर्यटक आवागमन बढाउने उपायबारे छलफल गरिनेछ। यसबाट दुवै देशका पर्यटन व्यवसायीबीच सहकार्यका नयाँ अवसर पहिचान गर्न र संयुक्त पर्यटन प्याकेज विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस कार्यक्रमले लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई एउटै पर्यटन सर्किटमा जोड्ने लक्ष्यसमेत राखेको छ। यी क्षेत्रका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा अन्य पर्यटकीय विशेषतालाई एकीकृत रूपमा प्रस्तुत गरी पर्यटकलाई एउटै भ्रमण योजनामार्फत विभिन्न गन्तव्यसम्म पुर्‍याउने सम्भावनाबारे पहल गरिनेछ।

विशेषगरी भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकालगायत क्षेत्रलाई पर्यटन सञ्जालमा आबद्ध गर्दै क्षेत्रीय पर्यटन सहकार्य विस्तार गर्ने योजना छ।

नेपाल र भारतबीचको भौगोलिक निकटता, धार्मिक सम्बन्ध, सांस्कृतिक समानता र सहज आवतजावतको सम्भावनालाई उपयोग गर्दै भारतीय पर्यटकको नेपाल भ्रमण बढाउन यो कार्यक्रम उपयोगी हुने आयोजकको अपेक्षा छ।

1

Scroll to Top