अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे विचार आदानप्रदान भएको छ । भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार भएको छलफलमा विश्व व्यवस्थामा देखिएका परिवर्तन, बहुपक्षीय सहकार्यको प्रभावकारिता तथा क्षेत्रीय र उपक्षेत्रीय साझेदारीका सम्भावनाबारे चर्चा गरिएको हो ।
भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको सम्मेलनको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको सत्रमा भारतीय विदेशमन्त्री जयशंकर प्रमुख वक्ता र अर्थमन्त्री वाग्ले अतिथि वक्ताका रूपमा सहभागी हुनुभएको थियो । दुवै नेताबीच विश्वव्यापी आर्थिक विखण्डन, अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका र बदलिँदो भू–राजनीतिक परिस्थितिमा सहकार्यलाई प्रभावकारी बनाउने उपायबारे छलफल भएको थियो ।
सत्रमा अर्थमन्त्री वाग्लेले शीतयुद्धको अन्त्यपछि विश्वले व्यापार तथा आर्थिक क्षेत्रमा बहुपक्षीय सहकार्यलाई प्राथमिकता दिएको स्मरण गराउनुभयो । तर, पछिल्ला वर्षमा बहुपक्षीयताको आधार कमजोर हुँदै गएको र विभिन्न व्यापारिक समूहको विस्तारसँगै विश्व अर्थतन्त्रमा विखण्डन बढिरहेको उहाँको भनाइ थियो ।
यस्तो परिस्थितिमा विपद् प्रतिकार्य, पोषण, ऊर्जा तथा स्वच्छ ऊर्जाजस्ता महत्त्वपूर्ण क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय र क्षेत्रीय सहकार्यलाई संस्थागत गर्दै अघि बढ्न सकिने सम्भावनाबारे उहाँले प्रश्न गर्नुभयो । त्यस्ता सहकार्यलाई औपचारिक संस्थागत संरचनामार्फत अघि बढाउनु उपयुक्त हुने वा साझेदार मुलुकबीचको आपसी समझदारीका आधारमा सञ्चालन गर्नु प्रभावकारी हुने भन्ने विषयमा पनि उहाँले भारतीय विदेशमन्त्रीको धारणा माग्नुभयो ।
‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’ भन्ने प्रश्न गर्दै वाग्लेले बहुध्रुवीय विश्व व्यवस्थामा क्षेत्रीय तथा उपक्षेत्रीय सहकार्यले कस्तो भूमिका खेल्न सक्छ भन्ने जिज्ञासा राख्नुभएको थियो ।
जवाफमा विदेशमन्त्री जयशंकरले पछिल्ला दुई दशकमा देशहरू औपचारिक प्रतिबद्धताभन्दा व्यावहारिक सहकार्यतर्फ आकर्षित हुँदै गएको बताउनुभयो । औपचारिक संस्थागत संरचना निर्माण गर्दा वार्ता, प्रशासनिक प्रक्रिया, आर्थिक दायित्व र नियम निर्धारणमा धेरै समय खर्च हुने भएकाले कतिपय अवस्थामा सहकार्यको मूल उद्देश्य नै ओझेलमा पर्ने उहाँको भनाइ थियो ।
जयशंकरले औपचारिक संरचना आवश्यक पर्ने क्षेत्रमा त्यस्तो व्यवस्था उपयुक्त भए पनि सबै प्रकारका सहकार्यलाई संस्थागत संरचनामा बाँध्न आवश्यक नरहेको स्पष्ट पार्नुभयो । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलाई औपचारिक सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले सहकार्यको स्वरूप विषय, साझेदार र प्रतिबद्धताको स्तरअनुसार निर्धारण हुनुपर्ने बताउनुभयो ।
उहाँले ब्रिक्स समूहको उदाहरण दिँदै त्यसको आफ्नै सचिवालय र सबै सदस्यले हस्ताक्षर गरेको लिखित बडापत्र नरहेको उल्लेख गर्नुभयो । ब्रिक्स र सांघाई सहयोग सङ्गठनको संरचनाबीचको भिन्नताले पनि अन्तर्राष्ट्रिय सहकार्यका सबै संयन्त्र एउटै ढाँचामा सञ्चालन हुन नसक्ने देखाउने उहाँको भनाइ थियो ।
भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा त्रिपक्षीय, चतुर्पक्षीय तथा समान विचारधारा भएका मुलुकका करिब ५० वटा समूह निर्माण गरेको प्रसङ्ग उल्लेख गर्दै जयशंकरले कम प्रशासनिक भार र परिणाममुखी सहकार्यप्रति देशहरूको आकर्षण बढिरहेको बताउनुभयो ।
यसअघि अर्थमन्त्री वाग्लेले विपद्का समयमा भारतले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगको प्रशंसा गर्नुभएको थियो । सन् २०१५ को भूकम्प तथा हालै रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्का बेला भारतले केही घण्टाभित्रै सहयोग उपलब्ध गराएको स्मरण गर्दै उहाँले त्यसप्रति नेपालको कृतज्ञता व्यक्त गर्नुभयो ।


