Banijya News

विद्युत् निर्यातबाट नेपालले कमायो ५ अर्ब ९२ करोड, बङ्गलादेशमा पनि निर्यात हुँदै

1
1.1K Shares

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरी ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि गत वर्षको असोज र चालु आवको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट भएको कारोबार बढेको हो ।

प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागका अनुसार असोजमा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात गरिएको थियो । उक्त विद्युत् द्विपक्षीय सम्झौता तथा भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको हो ।

प्राधिकरणले द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गर्दै आएको छ । त्यसबाहेक बचत भएको विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिन्छ । असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी बजारमार्फत बिक्री गरिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए ।

गत वर्षको असोजमा विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ कारोबार भएको थियो । यस वर्षको असोजमा उक्त रकम ९६ करोड २० लाख रुपैयाँले बढेको छ । त्यस्तै, चालु आवको भदौमा भएको ५ अर्ब ९ करोड २५ लाख रुपैयाँको तुलनामा असोजको कारोबार ८३ करोड २५ लाख रुपैयाँले बढी हो ।

चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ ।

बङ्गलादेशतर्फ ४० मेगावाट निर्यात पुनः सुरु

यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा बाढी आएपछि त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुगेको थियो । त्यसपछि बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य आयोजनाको विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त भएपछि गत शुक्रबार, कात्तिक ६ गते साँझदेखि निर्यात पुनः सञ्चालनमा आएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेश तथा हरियाणातर्फ निर्यात गर्न अनुमति प्राप्त भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते पाँचवर्षे विद्युत् बिक्री सम्झौता भएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरिन्छ ।

निर्यात क्षमता १,१७९ मेगावाट पुग्यो

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएपछि भारततर्फ निर्यात गर्न स्वीकृति पाएको कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ ।

बाढीबाट प्रभावित आयोजनाका बाबजुद वैकल्पिक आयोजनामार्फत निर्यात कायम राख्नु र बङ्गलादेशतर्फको व्यापार पुनः सञ्चालन हुनु नेपालको विद्युत् व्यापार विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भएको श्रेष्ठले बताए । यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को बजार व्यवस्थापन तथा क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top