Banijya News

रसुवा-भोटेकोशी बाढीको कहर : निजी सम्पत्तिमा मात्रै ७९ अर्बभन्दा बढीको क्षति

1
1.0K Shares

१० भदौमा आएको रसुवा-भोटेकोशी बाढीले सर्वसाधारणको निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको प्रारम्भिक मूल्यांकनले देखाएको छ। बाढीका कारण घर, जग्गाजमिन, व्यवसाय, सवारीसाधन, कृषि उत्पादन तथा घरायसी सामग्रीमा ठूलो नोक्सानी भएको हो। सडक, जलविद्युत् आयोजना, अन्य भौतिक पूर्वाधार, सामाजिक क्षेत्र र वातावरणमा भएको क्षतिको हिसाब भने यसमा समावेश गरिएको छैन।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) अन्तर्गत घरधुरी सर्वेक्षणको प्रारम्भिक नतिजाले बाढीले सर्वसाधारणको आर्थिक जीवनमा गम्भीर असर पारेको देखाएको छ। आयोगका अनुसार कुल निजी क्षतिमध्ये ६९ अर्ब ५७ करोड रुपैयाँ घरपरिवारको सम्पत्तिमा र ९ अर्ब ६० करोड रुपैयाँ व्यवसाय तथा विभिन्न प्रतिष्ठानको सम्पत्तिमा भएको छ। यसले बाढीबाट भएको निजी सम्पत्तिको कुल क्षतिमा घरपरिवारको हिस्सा सबैभन्दा ठूलो रहेको पुष्टि गर्छ।

चार जिल्लाका १५ स्थानीय तह प्रभावित

सर्वेक्षणको प्रारम्भिक विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहका ६ हजार ८१७ घरपरिवार र १ हजार ६३८ व्यवसाय प्रभावित भएका छन्। बाढीबाट प्रत्यक्ष प्रभावित हुनेको संख्या ३२ हजार ८७२ पुगेको छ। तीमध्ये १६ हजार ७१४ पुरुष, १६ हजार ८० महिला तथा ७८ जना अन्य लिङ्गी वा लैङ्गिक पहिचान नखुलेका व्यक्ति छन्।

जिल्लागत विवरणअनुसार नुवाकोट सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ १७ हजार ९५४ जना प्रभावित भएका छन् भने ४ हजार १६४ घरपरिवार तथा प्रतिष्ठानले क्षति बेहोरेका छन्। रसुवामा ९ हजार ६७६ जना अर्थात् १ हजार ९७७ घरपरिवार प्रभावित भएका छन्। त्यसैगरी धादिङमा ४ हजार ५८४ जना र १ हजार ५२ घरपरिवार तथा प्रतिष्ठान प्रभावित भएका छन्। गोरखामा भने ६५८ जना र १२३ घरपरिवार तथा प्रतिष्ठानमा क्षति पुगेको छ।

जग्गाजमिनमा सबैभन्दा ठूलो नोक्सानी

आर्थिक मूल्यका आधारमा हेर्दा बाढीबाट सबैभन्दा ठूलो क्षति जग्गाजमिनमा पुगेको छ। सर्वेक्षणअनुसार ३ हजार ६१० परिवारको ५०८ हेक्टर जमिनमा क्षति भएको छ। यसको अनुमानित मूल्य ३५ अर्ब ४४ करोड रुपैयाँ रहेको आयोगले जनाएको छ। त्यस्तै, आफ्नै स्वामित्वको घर रहेको जग्गामा १३ अर्ब २६ करोड रुपैयाँ बराबरको क्षति भएको छ। घर तथा भवन निर्माणमा भएको लगानीका आधारमा थप ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ। क्षतिग्रस्त भवन संरचनाले मात्रै ५४.६५ हेक्टर जमिन ओगटेको विवरणमा उल्लेख छ।

बाढीले घरजग्गामा मात्र नभई नागरिकले वर्षौँ लगाएर जोडेको सम्पत्ति पनि नष्ट गरेको छ। २ हजार ३३० घरपरिवारको नगद, बहुमूल्य वस्तु, सांस्कृतिक तथा पुरातात्त्विक सम्पत्तिमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। त्यस्तै, ३ हजार १८७ परिवारका स्थायी प्रकृतिका घरायसी सामानमा १ अर्ब ४५ करोड रुपैयाँको क्षति भएको छ। १ हजार ११५ घरपरिवारका १ हजार ४२३ सवारीसाधनमा १ अर्ब २४ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ। अस्थायी प्रकृतिका घरायसी सामग्रीमा २ हजार ७६९ परिवारको ६६ करोड ३५ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

हजारौँ घर तथा भवन प्रयोग गर्न नसकिने अवस्थामा

बाढीका कारण ३ हजार ९६७ घरधनीका ४ हजार १५१ भवन संरचनामा क्षति पुगेको छ। क्षतिग्रस्त संरचनामा २ हजार ७०२ घर, २८८ गोठ, धनसार वा मतान, ६५१ ट्रस, २६३ टहरा तथा अन्य संरचना समावेश छन्। तीमध्ये २ हजार ९८९ संरचना अर्थात् करिब ७२ प्रतिशत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। थप ५०८ संरचना माटो तथा लेदोले पुरिएका छन्। सर्वेक्षणअनुसार ३०२ भवनमा आंशिक क्षति, १९२ मा सामान्य क्षति र १४१ भवन ढल्किएको अवस्था छ।

कुल क्षतिग्रस्त संरचनामध्ये ३ हजार १०४ अर्थात् ७६.९५ प्रतिशत पुनः प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। पूर्ण मर्मतपछि ३३२ र सामान्य मर्मतपछि ३२० संरचना प्रयोग गर्न सकिने देखिएको छ। मर्मत नगरी बस्न मिल्ने संरचनाको संख्या भने ९७ मात्रै छ। यसले प्रभावित परिवारका लागि सुरक्षित आवासको व्यवस्था गर्नु पुनर्निर्माणको प्रमुख चुनौती बन्ने संकेत गरेको छ।

कृषि, पशुपन्छी र व्यवसायमा पनि गम्भीर असर

बाढीले कृषि उत्पादन र पशुपालनमा समेत ठूलो क्षति पुर्‍याएको छ। खेतबारीमा लगाइएको बालीमा २३ करोड २१ लाख, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख तथा पशुपन्छी र माछापालनमा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्रभावित घरपरिवारले पालेका ६६४ ठूला पशु, ४ हजार ६०१ साना पशु, ६३ हजार ६३३ पन्छी तथा २४ हजार ५०८ किलो माछा नष्ट भएका छन्। यसबाट कृषिमा निर्भर परिवारको आम्दानी र खाद्य सुरक्षामा समेत असर पर्ने देखिन्छ।

व्यवसाय तथा प्रतिष्ठानतर्फ सबैभन्दा बढी क्षति थोक तथा खुद्रा व्यापारमा पुगेको छ। प्रभावित १ हजार ६३८ प्रतिष्ठानमध्ये ७७४ अर्थात् ४७.२५ प्रतिशत यस क्षेत्रका छन्। आवास तथा खाद्य सेवासँग सम्बन्धित ३३७ प्रतिष्ठान, कृषि, वन तथा मत्स्यपालनका १६६ प्रतिष्ठान र अन्य सेवाका १३६ प्रतिष्ठान प्रभावित भएका छन्। व्यवसायीका ४०३ सवारीसाधनमा ९४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। विभिन्न प्रतिष्ठानले पालेका १३० ठूला पशु, २ हजार ५८ साना पशु, १ लाख ५३ हजार ५२ पन्छी तथा २८ हजार १५० किलो माछासमेत नष्ट भएका छन्।

पुनर्निर्माण र राहतका लागि विस्तृत मूल्यांकन

बाढीबाट भएको हानि-नोक्सानीको विस्तृत मूल्यांकन, वित्तीय आवश्यकता निर्धारण तथा पुनर्निर्माण योजना तयार गर्न मन्त्रिपरिषद्ले १२ भदौमा पीडीएनए प्रतिवेदन बनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार राष्ट्रिय योजना आयोगले प्रश्नावली तयार गरी प्रभावित क्षेत्रमा तथ्यांक संकलन गरेको हो। यस कार्यका लागि ५८ टोलीमा १५६ जना प्राविधिक तथा प्रशासनिक कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ। कामको सिलसिला वा भ्रमणका क्रममा प्रभावित क्षेत्रमा अनुपस्थित रहेका परिवारको विवरणसमेत सम्बन्धित स्थानीय तहमार्फत संकलन गर्ने व्यवस्था मिलाइएको थियो। आयोगका अनुसार संकलित तथ्यांकको प्रशोधन र विश्लेषण अझै जारी छ। त्यसैले सार्वजनिक गरिएको रकम प्रारम्भिक अनुमान हो। विस्तृत प्रतिवेदन तयार भएपछि बाढीबाट भएको समग्र क्षति, पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोत र प्रभावित नागरिकको पुनःस्थापनाका लागि चाल्नुपर्ने कदमबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ। निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड रुपैयाँको क्षति देखिनुले बाढीको आर्थिक असर कति गहिरो छ भन्ने देखाउँछ।

1

Scroll to Top