Banijya News

साउदीमा हुथी आक्रमणको त्रास : एक नेपालीको मृत्यु, पौने चार लाख तनावमा

1
1.0K Shares

यमनको विद्रोही हुथी समूहले साउदी अरेबियाको तेल उत्पादन क्षेत्रलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको पाँच दिन बितिसक्दा पनि मृतकको पहिचान खुल्न सकेको छैन। घटनामा अर्का एक नेपाली घाइते भएका छन्। साउदीमा बढ्दो सुरक्षा चुनौतीका बीच नेपाली नागरिकको मृत्यु र घाइते भएको घटनाले त्यहाँ कार्यरत लाखौँ नेपाली तथा नेपालमा रहेका उनीहरूका परिवारलाई चिन्तित बनाएको छ।

कात्तिक ४ गते भएको उक्त आक्रमणमा एक नेपालीसहित विभिन्न देशका नागरिकको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। घटनामा भारतीय, साउदी र फिलिपिनो नागरिकसमेत परेको बताइएको छ। मृतक नेपालीको पहिचान खुलाउन नेपाल सरकारले रियादस्थित नेपाली दूतावासमार्फत सम्बन्धित निकायसँग समन्वय गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्थानीय प्रहरीबाट घटनासम्बन्धी विवरण प्राप्त हुन ढिलाइ भएकाले मृतक नेपालीको पहिचान पुष्टि गर्न नसकिएको मन्त्रालय स्रोतको भनाइ छ। घाइते नेपालीको विवरणसमेत सार्वजनिक भइसकेको छैन।

साउदीमा कार्यरत नेपालीको सुरक्षाबारे चिन्ता

परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार साउदी अरेबियामा ३ लाख ८४ हजार ८६५ नेपाली वैधानिक रूपमा कार्यरत छन्। हुथी विद्रोही र साउदीबीच पछिल्लो समय बढ्दै गएको द्वन्द्वले उनीहरूको सुरक्षा र रोजगारीबारे चिन्ता बढाएको छ। रियादस्थित नेपाली दूतावासको रिपोर्टअनुसार साउदीमा जनजीवन सामान्य रहे पनि विभिन्न स्थानमा विस्फोटका आवाज सुनिने गरेका छन्। यसले नेपाली कामदारमा डर र असुरक्षा बढाएको मन्त्रालय स्रोतले जनाएको छ।

हुथी समूहले साउदीका प्रमुख विमानस्थल र तेल उत्पादनसम्बन्धी पूर्वाधारलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरिरहेको छ। पछिल्ला घटनाले द्वन्द्व थप चर्किएमा नेपालीको रोजगारी प्रभावित हुने र आवश्यक परे उद्धार गर्नसमेत कठिनाइ उत्पन्न हुन सक्ने सरकारी अधिकारीहरूको चिन्ता छ। यसअघि असोज २४ गते किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको मिसाइल आक्रमणमा ठूलो मानवीय क्षति भएको विवरण सार्वजनिक भएको थियो। त्यसको भोलिपल्ट पनि साउदीको विमानस्थललाई लक्षित गरी आक्रमण भएको समाचारमा उल्लेख छ।

नेपाल सरकारद्वारा आक्रमणको भर्त्सना

नेपाली नागरिकको ज्यान गएको घटनापछि नेपाल सरकारले आक्रमणको कडा शब्दमा भर्त्सना गरेको थियो। परराष्ट्र मन्त्रालयले नेपाली नागरिक तथा संवेदनशील पूर्वाधारलाई लक्षित गरी गरिने आक्रमणको विरोध गर्दै विवाद समाधानका लागि संवाद, वार्ता र कूटनीतिक माध्यम अपनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको थियो। पश्चिम एसियामा जारी द्वन्द्वले नेपाललाई सुरक्षा र वैदेशिक रोजगारीका क्षेत्रमा मात्रै नभई अर्थतन्त्रमा समेत असर पारिरहेको सरकारी अध्ययनले देखाएको छ।

रेमिट्यान्सदेखि रोजगारीसम्म असर पर्ने जोखिम

परराष्ट्रमन्त्री शिशिर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय अन्तरमन्त्रालय अध्ययन कार्यदलले पश्चिम एसियाको द्वन्द्वले नेपालको अर्थतन्त्र, वैदेशिक रोजगारी, विप्रेषण, पर्यटन, हवाई यातायात, व्यापार, उद्योग र ऊर्जा क्षेत्रमा प्रभाव पार्न सक्ने निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाएको थियो। युद्ध लम्बिँदा रोजगारी गुम्ने, आम्दानी घट्ने र नेपाल भित्रिने रेमिट्यान्समा कमी आउने जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसको प्रत्यक्ष असर वैदेशिक रोजगारीमा निर्भर परिवारको उपभोग, शिक्षा र जीवनस्तरमा पर्न सक्छ। कतिपय परिवार ऋणको बोझमा पर्ने र गरिबीबाट बाहिर निस्किएका परिवार पुनः आर्थिक संकटमा धकेलिने सम्भावनासमेत औँल्याइएको छ।

युद्धका कारण इन्धन, ग्यास र हवाई इन्धनको मूल्य बढ्नुका साथै अन्तर्राष्ट्रिय हवाई ट्रान्जिट प्रभावित हुँदा पर्यटन तथा व्यापारमा पनि दबाब परेको अध्ययनले देखाएको छ। साउदीमा कार्यरत नेपालीको सुरक्षासँग जोडिएको पछिल्लो घटनाले पश्चिम एसियाको द्वन्द्व नेपालका लागि कूटनीतिक विषय मात्र नभई मानवीय र आर्थिक चुनौतीसमेत बनेको देखाएको छ।

1

Scroll to Top