नेपालको आर्थिक तथा पूर्वाधार विकासमा महत्त्वपूर्ण मानिएका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन सुस्त देखिएको छ। आयोजना सुरु भएको वर्षौँ बितिसक्दा पनि अधिकांश निर्माणाधीन अवस्थामै छन्। कतिपयको भौतिक प्रगति न्यून छ भने केही आयोजनाको लागत अनुमान उल्लेख्य रूपमा बढेको छ। राष्ट्रिय गौरवका दुई दर्जनभन्दा बढी आयोजनामध्ये हालसम्म तीनवटा मात्र सम्पन्न भएका छन्। माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएका हुन्। बाँकी २४ आयोजनामध्ये गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र पश्चिम सेती जलविद्युत् आयोजना निर्माण सुरु हुन सकेका छैनन्। अन्य आयोजनामा पनि अपेक्षाअनुसार प्रगति हुन सकेको छैन।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठका अनुसार गौरवका आयोजनाको विकास तथा कार्यान्वयनमा नीतिगत र व्यवस्थापकीय समस्या छन्। सामान्य आयोजनाभन्दा फरक प्राथमिकता र कार्यान्वयन व्यवस्था नहुँदा अपेक्षित परिणाम प्राप्त हुन नसकेको उनको भनाइ छ। पर्याप्त बजेट अभाव र पुँजीगत खर्च गर्न नसक्ने सरकारी समस्याले पनि आयोजनाको गति प्रभावित भएको छ। आयोगको प्रगति विवरणअनुसार राष्ट्रिय गौरवका आयोजनामा वार्षिक औसत निर्माण प्रगति २.९६ प्रतिशत मात्रै रहेको छ। यसले आयोजना छनोट, बजेट व्यवस्थापन र कार्यान्वयन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता देखाएको छ।
सिँचाइ आयोजनामा पनि ढिलाइ
आर्थिक वर्ष २०४५/४६ मा सुरु भएको बबई सिँचाइ आयोजनाको भौतिक प्रगति करिब ८२ प्रतिशत पुगेको छ। झन्डै चार दशक बित्न लाग्दा पनि आयोजना पूरा हुन सकेको छैन। यसमा हालसम्म १८ अर्ब २१ करोड रुपैयाँ खर्च भइसकेको छ। त्यस्तै, महाकाली सिँचाइ आयोजनाको प्रगति ३१ प्रतिशत मात्रै छ। आव २०६३/६४ मा सुरु भएको यस आयोजनामा १० अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ। आव २०६१/६२ मा सुरु भएको सिक्टा सिँचाइ आयोजनाको प्रगति ५१ प्रतिशत पुगेको छ भने यसमा २४ अर्ब ३३ करोड रुपैयाँ खर्च भइसकेको छ।
रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको प्रगति ७४.८ प्रतिशत छ। भेरी–बबई डाइभर्सन आयोजनाको ६७ प्रतिशत र सुनकोसी–मरिन डाइभर्सन आयोजनाको ३७.८१ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। यी आयोजना ढिलो हुँदा कृषि उत्पादन बढाउने र सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य प्रभावित भएको छ।
सडक र रेलमार्गको अवस्था कमजोर
सडक पूर्वाधारतर्फ पुष्पलाल मध्यपहाडी राजमार्गको भौतिक प्रगति ८४.६८ प्रतिशत पुगेको छ। आव २०६४/६५ मा सुरु भएको यस आयोजनामा ७३ अर्ब ५८ करोड रुपैयाँ खर्च भइसकेको छ। हुलाकी राजमार्ग, कालीगण्डकी करिडोर र कर्णाली करिडोर पनि पूर्ण रूपमा सम्पन्न हुन सकेका छैनन्। पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति झन् न्यून छ। आव २०६६/६७ मा सुरु भएको आयोजनाको भौतिक प्रगति ३.६ प्रतिशत मात्रै छ। यसको संशोधित लागत अनुमान एक खर्ब एक हजार ७०० करोड रुपैयाँ पुगेको छ। आव २०७३/७४ मा सुरु भएको काठमाडौं–तराई/मधेस द्रुतमार्गको प्रगति ४८.७२ प्रतिशत छ। रणनीतिक महत्त्वको यस आयोजनामा ढिलाइ हुँदा राजधानी र तराईबीच सहज यातायात सुविधा प्राप्त गर्ने लक्ष्य पछाडि धकेलिएको छ।
लागत बढ्ने, प्रतिफल ढिलो आउने
बुढीगण्डकी जलविद्युत् आयोजनामा करिब ४२ अर्ब रुपैयाँ खर्च भइसके पनि भौतिक प्रगति १६.५५ प्रतिशत मात्रै छ। आयोजना निर्माणको मोडालिटीमा पटकपटक परिवर्तन हुँदा काम अघि बढ्न नसकेको हो। त्यसैगरी, राष्ट्रिय चुरे संरक्षण आयोजनाको प्रगति ६.७ प्रतिशत मात्रै रहेको छ। आयोजना लामो समयसम्म अधुरै रहँदा लागत बढ्ने, राज्यको लगानीबाट प्राप्त हुने प्रतिफल ढिलो हुने र नागरिकले पाउनुपर्ने सेवा प्रभावित हुने समस्या देखिएको छ। जग्गा प्राप्ति, ठेक्का व्यवस्थापन, निर्माण सामग्रीको उपलब्धता, प्राविधिक जटिलता र सरकारी निकायबीच समन्वयको अभावले पनि काममा अवरोध सिर्जना गर्ने गरेका छन्।


