नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम आगामी बिहीबार हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कात्तिक १२ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा शपथग्रहण कार्यक्रम आयोजना गरिनेछ।
उक्त कार्यक्रममा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथका लागि आमन्त्रण गरिएको छ। शपथग्रहणसँगै नवनिर्वाचित कार्यसमितिका सदस्यहरूले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढ्नेछ।
कांग्रेस सभापतिमा निर्वाचित गगनकुमार थापाले भने यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। उनले दसैँअघि नै सभापतिको जिम्मेवारीको शपथ लिएका हुन्।
बिहीबार हुने कार्यक्रममा सभापति थापाले केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको संगठनात्मक कामलाई व्यवस्थित रूपमा अघि बढाउन शपथग्रहणलाई महत्त्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ। नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेपछि पार्टीका आगामी नीति, संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई अगाडि बढाउने बाटो खुल्नेछ। शपथग्रहण कार्यक्रमको तयारी कांग्रेस केन्द्रीय निर्वाचन समितिले गरिरहेको जनाएको छ।


