तिहार र छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा कार्तिक १२ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूल तथा बिरुवा राखिने भएका छन् । आयोजकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदर्शनीको तयारीबारे जानकारी दिएको हो । नेपाली पुष्प व्यवसायको प्रवद्र्धन, गोदावरी फूलको व्यावसायिक उत्पादन विस्तार तथा उत्पादित फूलको बजार विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ ।
तिहार र छठजस्ता प्रमुख पर्वमा फूलको माग उच्च हुने भएकाले प्रदर्शनीले उपभोक्तालाई विभिन्न प्रकारका फूल अवलोकन तथा खरिद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै, पुष्प व्यवसायमा संलग्न किसान, नर्सरी सञ्चालक र व्यवसायीलाई आफ्ना उत्पादनको प्रचारप्रसार तथा बजार विस्तार गर्न पनि मेलाले सहयोग पु¥याउने विश्वास आयोजकको छ ।
८६ स्टलमा फूल तथा बिरुवाको प्रदर्शनी
प्रदर्शनीमा कुल ८६ वटा स्टल रहने आयोजकले जनाएको छ। ती स्टलमा व्यावसायिक रूपमा उत्पादन गरिएका गोदावरी फूलका विभिन्न जात, नयाँ प्रजाति तथा अन्य फूल र बिरुवासमेत राखिनेछन्। फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनका अनुसार यस वर्षको प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा अवलोकन गर्न सकिनेछ। व्यावसायिक उत्पादकहरूले उत्पादन गरेका गोदावरीका विभिन्न जातसँगै यस वर्ष भित्रिएका नयाँ प्रजातिले पनि प्रदर्शनीमा आकर्षण थप्ने अपेक्षा गरिएको छ।
फूलको विविधता, रंग र बनोटका आधारमा गोदावरीका विभिन्न प्रजाति एकै स्थानमा अवलोकन गर्न पाइने भएकाले पुष्पप्रेमी, उपभोक्ता तथा व्यवसायीका लागि मेला उपयोगी हुने आयोजकको भनाइ छ।
विभिन्न विधामा प्रतिस्पर्धा, नयाँ विधा थप
प्रदर्शनीलाई थप आकर्षक बनाउन गोदावरी फूलका उत्पादकबीच प्रतियोगितासमेत सञ्चालन गरिनेछ। मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा नर्सरी तथा फर्मले उत्पादन गरेका फूलबीच प्रतिस्पर्धा गराइने मेला संयोजक महर्जनले जानकारी दिएका छन्। यस वर्षदेखि कट फ्लावरतर्फ ‘उत्कृष्ट पुष्प सजावट’ विधा पनि थप गरिएको छ। यसले फूल उत्पादनसँगै यसको कलात्मक सजावट र व्यावसायिक प्रयोगलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने नर्सरी तथा फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत गुणस्तरीय फूल उत्पादन गर्ने व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै पुष्पखेतीमा नवीनता र प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने लक्ष्य राखिएको छ।
एक करोड ३० लाखभन्दा बढी कारोबारको अपेक्षा
आयोजकले पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरेको छ। त्यस्तै, मेलाबाट एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार हाल देशभर ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्पखेती हुँदै आएको छ। यस क्षेत्रमा कुल लगानी ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रहेको अनुमान छ।



