Banijya News

विपद् पूर्वसूचना र जलवायु क्षतिपूर्तिको मुद्दा उठाउन ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

1
1.0K Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मंगलबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। सम्मेलनमा नेपालको तर्फबाट विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोग तथा जलवायु क्षतिपूर्तिजस्ता महत्त्वपूर्ण विषय उठाउने तयारी गरिएको छ।

संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) को आयोजनामा हुने सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अन्तरिक्ष प्रविधिको उपयोगमार्फत दिगो विकासलाई प्रवर्द्धन गर्ने तथा क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले सम्मेलन आयोजना हुन लागेको हो।

जलवायु परिवर्तनका कारण बढिरहेका प्राकृतिक विपद्, समयमै सूचना प्राप्त गर्ने चुनौती र विपद् व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग सम्मेलनका महत्त्वपूर्ण विषय बन्ने अपेक्षा गरिएको छ। नेपालजस्तो भौगोलिक रूपमा संवेदनशील मुलुकका लागि अन्तरिक्षमा आधारित सूचना प्रणालीको उपयोग विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी हुन सक्ने भएकाले पनि यो सहभागितालाई महत्त्वपूर्ण मानिएको छ।

मन्त्री श्रेष्ठले बिहीबार थाइल्यान्ड, नेपाल र यूएन इस्क्यापको संयुक्त आयोजनामा हुने विशेष कार्यशालालाई पनि सम्बोधन गर्नेछन्। ‘सगरमाथादेखि सागरसम्मः एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाले सिकाएका पाठ’ विषयमा केन्द्रित कार्यशालामा विपद्का घटनाबाट प्राप्त अनुभव र त्यसको व्यवस्थापनका उपायबारे छलफल हुने कार्यक्रम छ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रमा हुने प्राकृतिक घटनाले नदी प्रणाली हुँदै तल्लो तटीय क्षेत्रसम्म प्रभाव पार्न सक्ने भएकाले विपद् जोखिमलाई समग्र क्षेत्रीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने आवश्यकता यस विषयले उजागर गर्छ। विशेषगरी समयमै जोखिम पहिचान, प्रभावकारी पूर्वसूचना र सम्बन्धित देश तथा निकायबीच सूचना आदानप्रदानलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनका अनुसार सम्मेलनका क्रममा मन्त्रीले विभिन्न देशका मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। ती भेटघाट तथा सम्मेलनका छलफलमा विपद् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, क्षेत्रीय स्याटेलाइट सेवाको निःशुल्क प्रयोग सुनिश्चित गर्ने र जलवायु क्षतिपूर्तिको विषय उठाइनेछ।

प्राकृतिक विपद्को जोखिम उच्च भएका देशहरूलाई आवश्यक प्रविधि र तथ्याङ्कमा सहज पहुँच उपलब्ध गराउन सके विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसैगरी, जलवायु परिवर्तनबाट बढी प्रभावित देशले भोग्नुपरेका क्षति सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग र क्षतिपूर्तिको विषय पनि नेपालको प्राथमिकतामा रहनेछ।

मन्त्री श्रेष्ठको भ्रमण टोलीमा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला तथा जलवायु, विपद् उत्थानशीलता र अन्तर्राष्ट्रिय विकास विज्ञ एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी बोर्ड सदस्य अंकिता शाह सहभागी छन्।

प्राविधिक तथा नीतिगत अनुभवसहितको सहभागिताले सम्मेलनमा उठाइने विषयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अन्तरिक्ष प्रविधि, मौसमसम्बन्धी तथ्याङ्क र विपद् व्यवस्थापनमा क्षेत्रीय साझेदारी विस्तार गर्न सम्मेलन उपयोगी हुने विश्वास गरिएको छ।

1

Scroll to Top