Banijya News

कमल ऐरीको घातक बलिङले पल्टियो खेल, विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित

1
1.0K Shares

कमल ऐरीको उत्कृष्ट बलिङ र विराटनगर किंग्सको नाटकीय ब्याटिङ पतनसँगै नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा चितवन राइनोजले रोमाञ्चक जित निकालेको छ। जितका लागि १५८ रनको लक्ष्य पछ्याएको विराटनगरलाई १४९ रनमै समेट्दै चितवनले आठ रनको जित हात पारेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले एक समय जित आफ्नो पक्षमा पार्ने बलियो संकेत देखाएको थियो। तर, अन्तिम चरणमा लगातार विकेट गुमाएपछि टोलीले जितको नजिक पुगेर पनि हार बेहोर्नुपर्‍यो।

१५.४ ओभरमा चार विकेट गुमाएर १३२ रन बनाएको विराटनगरलाई जितका लागि सहज अवस्था थियो। तर, आन्द्रे रसेल आउट भएपछि विराटनगरको ब्याटिङ क्रम एकाएक धराशायी बन्यो। बाँकी ६ विकेट गुमाउँदा टोलीले थप १७ रन मात्रै जोड्न सक्यो। अन्ततः विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो। चितवनको जितमा तीव्र गतिका बलर कमल ऐरी नायक बने। उनले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए। विराटनगरको जितको आशा बनेका रसेललाई आउट गरेपछि कमलले बसिर अहमद, एन्जेलो म्याथ्युज र रुपेश सिंहलाई पनि पवेलियन फर्काए। उनको प्रभावकारी बलिङले खेलको दिशा नै परिवर्तन गरिदियो।

चितवनका रिजन ढकालले पनि निर्णायक समयमा उत्कृष्ट प्रदर्शन गरे। उनले १९औँ ओभरमा प्रतिश जिसी र विराटनगरका कप्तान सन्दीप लामिछानेलाई शून्य रनमा आउट गर्दै दुई विकेट लिए। टम टेलर, रञ्जित कुमार, डान मोस्ली र मौसम ढकालले एक–एक विकेट हात पारे।

रसेल र इमरानको आक्रामक ब्याटिङ खेर

विराटनगरका लागि ओपनर इमरान शेखले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा चार चौका र दुई छक्का प्रहार गरे। अर्का ओपनर लोकेश बमले १४ बलमा चार चौका र एक छक्काको मद्दतमा २६ रन जोड्दै टोलीलाई आक्रामक सुरुवात दिलाएका थिए। मध्यक्रममा आन्द्रे रसेलले विस्फोटक ब्याटिङ गर्दै १७ बलमा ३३ रन बनाए। उनले एक चौका र चार छक्का प्रहार गरे। तर, उनको विकेट गुमेसँगै विराटनगरको इनिङ्स सम्हालिन सकेन।

एन्जेलो म्याथ्युजले १४, बसिर अहमदले १३, शुभम रञ्जानेले १० र चरिथ असलंकाले आठ रन बनाए। तल्लो क्रमका रुपेश सिंह, प्रतिश जिसी र कप्तान सन्दीप लामिछाने खाता नखोली आउट भए। नरेन साउद दुई रनमा अविजित रहे।

मलानको अर्धशतकले चितवनलाई प्रतिस्पर्धात्मक योगफल

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको थियो। चितवनका ओपनर डेविड मलानले ५० बलमा पाँच चौका र पाँच छक्कासहित सर्वाधिक ७० रन बनाए।कप्तान रवि बोपारा ३२ रनमा र डान मोस्ले २९ रनमा अविजित रहे। दुवैले चौथो विकेटका लागि महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए। विराटनगरका लागि बलिङमा म्याथ्युज, रसेल र असलंकाले एक–एक विकेट लिए।

1

Scroll to Top