Banijya News

मलेसियाले अस्वीकार गर्‍यो सबै नेपाली म्यानपावरलाई कामदार पठाउन दिने नेपालको प्रस्ताव

1
1.0K Shares

मलेसिया सरकारले नेपालका सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई आफ्नो देशमा कामदार पठाउन अनुमति दिने नेपाल सरकारको प्रस्ताव अस्वीकार गरेको छ। मलेसियाको मानव संसाधन मन्त्रालयले युवा, श्रम तथा रोजगार मन्त्रालयलाई पत्र पठाउँदै सीमित म्यानपावर कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिने स्पष्ट पारेको हो।

मलेसियाका मानव संसाधन मन्त्री दातो श्री रामानन रामाकृष्णनले नेपालका श्रम मन्त्री रामजी यादवलाई पठाएको पत्रअनुसार नेपालको प्रस्तावबारे मलेसियाली मन्त्रिपरिषद्मा समेत विस्तृत छलफल भएको थियो। तर, छलफलपछि पनि मलेसिया सरकार आफ्नो विद्यमान नीतिबाट पछि नहट्ने निष्कर्षमा पुगेको छ।

नेपालले गत सेप्टेम्बर ११ मा कूटनीतिक नोट पठाउँदै मलेसियाको कामदार भर्ना प्रणालीमा सबै सक्रिय नेपाली म्यानपावर कम्पनीलाई समेट्न आग्रह गरेको थियो। त्यसपछि सेप्टेम्बर २४ मा दुई देशका श्रममन्त्रीबीच भएको टेलिफोन वार्तामा पनि यो विषय उठाइएको थियो। नेपालले देशमा सक्रिय रहेका १ हजार ११४ वटा म्यानपावर कम्पनीलाई मलेसियाको ‘फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मा मुख्य एजेन्सीका रूपमा आबद्ध गराउन प्रस्ताव गरेको थियो।

तर, मलेसियाले २५ वटा मुख्य अर्थात् प्रिन्सिपल म्यानपावर कम्पनी र ती प्रत्येकसँग आबद्ध १० वटा सहयोगी अर्थात् एसोसिएट कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने निर्णय कायम राखेको छ। यस व्यवस्थाअनुसार सबै नेपाली म्यानपावर कम्पनीले प्रत्यक्ष रूपमा कामदार पठाउन पाउने छैनन्।

मलेसिया सरकारले सीमित कम्पनीमार्फत कामदार भर्ना गर्दा अनुगमन, लेखापरीक्षण र नियमन प्रभावकारी हुने तर्क गरेको छ। धेरै कम्पनीलाई एउटै प्रणालीमा समेट्दा व्यवस्थापन जटिल हुन सक्ने भन्दै २५ वटा मुख्य कम्पनीलाई जिम्मेवार बनाएर कामदार भर्ना प्रक्रियालाई व्यवस्थित गर्न सकिने उसको भनाइ छ।

मलेसियाका अनुसार सीमित एजेन्सीमार्फत काम गर्दा कामदारका गुनासा तथा श्रम विवाद समाधान गर्न सहज हुनेछ। साथै, नेपाली कामदारको अधिकार, सुरक्षा र हित संरक्षण गर्न पनि यो प्रणाली प्रभावकारी हुने दाबी गरिएको छ।

पत्रमा कडा जाँचपछि छनोट गरिएका एजेन्सीमार्फत कामदार भर्ना गर्दा अनैतिक भर्ती प्रक्रिया, सम्झौताविपरीत काममा लगाउने प्रवृत्ति, कामदारबाट अत्यधिक शुल्क असुल्ने कार्य तथा श्रमिक शोषणको जोखिम घटाउन सकिने उल्लेख छ।

यसका अतिरिक्त, मलेसियाले सीमित कम्पनीमा आधारित व्यवस्थाले डिजिटल प्रणालीको सञ्चालन सहज बनाउने, पारदर्शिता बढाउने र नक्कली कागजातको प्रयोग नियन्त्रण गर्न सहयोग पुग्ने जनाएको छ। राम्रो कार्यसम्पादनको अभिलेख र बलियो आर्थिक अवस्था भएका कम्पनीलाई मात्रै जिम्मेवारी दिँदा नैतिक तथा गुणस्तरीय भर्ती प्रक्रिया सुनिश्चित गर्न सकिने मलेसियाको तर्क छ।

1

Scroll to Top