मेची करिडोरअन्तर्गतको सडक स्तरोन्नति कार्य लामो समयदेखि अलपत्र पारेपछि सडक डिभिजन कार्यालय इलामले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ। कार्यालयले बुधबार, २०८३ कात्तिक १२ गते सार्वजनिक सूचना जारी गर्दै काठमाडौंस्थित खड्का कृष्ण–सक्षम जेभीसँगको ठेक्का रद्द गरिएको जानकारी दिएको हो।
इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको मेची करिडोरको बेलासे–गोलाखर्क (राँके) भञ्ज्याङ खण्डको निर्माण कार्यमा अपेक्षित प्रगति हुन नसकेपछि कार्यालयले यस्तो निर्णय लिएको हो। केचना–कञ्चनजङ्घा सडकअन्तर्गत पर्ने यो खण्ड तीन जिल्लाका नागरिकको आवागमन, व्यापार तथा दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएको छ।
सडक डिभिजन कार्यालयका अनुसार उक्त सडक खण्डको निर्माण सम्पन्न गर्न सुरुमा ३० महिनाको समयसीमा निर्धारण गरिएको थियो। निर्धारित समयमा काम पूरा हुन नसकेपछि निर्माण कम्पनीलाई पटक–पटक गरी थप ३३ महिना म्याद दिइएको थियो। यसरी आयोजनाले कुल ६३ महिना अर्थात् पाँच वर्ष तीन महिना समय पाउँदा पनि काम सन्तोषजनक रूपमा अघि बढ्न सकेन। कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आयोजनाको वित्तीय प्रगति ४५.२८ प्रतिशतमा सीमित रहेको छ।
निर्माण व्यवसायीलाई काम अघि बढाउन पटक–पटक लिखित तथा मौखिक रूपमा ताकेता गरिएको कार्यालयले जनाएको छ। कम्पनीले विभिन्न समयमा निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै कार्यतालिकासमेत पेस गरेको थियो। तर, प्रतिबद्धताअनुसार काम सम्पन्न गर्न नसकेपछि सम्झौता कार्यान्वयनमा गम्भीर समस्या देखिएको कार्यालयको निष्कर्ष छ।
निर्माण व्यवसायीकै कारण आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएको ठहर गर्दै कार्यालयले कात्तिक ११ गते ठेक्का अन्त्य गर्ने निर्णय गरेको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(७) तथा ठेक्का सम्झौतामा उल्लिखित प्रावधानलाई आधार बनाएर सम्झौता रद्द गरिएको सूचनामा उल्लेख छ।
ठेक्का अन्त्यसँगै निर्माण कम्पनीसँगको आर्थिक हिसाबकिताब टुंग्याउने प्रक्रिया पनि अघि बढाइएको छ। कार्यालयले भुक्तानी हुन बाँकी रकम तथा स्वीकार्य रूपमा सम्पन्न भएका कामको मूल्यांकन गरी वित्तीय फरफराक गर्न निर्माण व्यवसायीलाई १५ दिनको समय दिएको छ।
तोकिएको अवधिभित्र कम्पनी वा त्यसको आधिकारिक प्रतिनिधि आवश्यक कागजातसहित कार्यालयमा उपस्थित नभएमा प्रचलित कानुनअनुसार एकतर्फी मूल्यांकन गरिने कार्यालयले जनाएको छ। साथै, निर्माण कम्पनीलाई कालोसूचीमा राख्नेलगायत थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।



