Banijya News

निर्वाचनपछि इजरायलमा सरकार गठनको रस्साकस्सी, नेतन्याहु हटाउन विपक्षी नेता आइजेनकोट सक्रिय

1
1.0K Shares

इजरायलमा सम्पन्न संसदीय निर्वाचनपछि नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच जोडघटाउ सुरु भएको छ । कुनै पनि गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि विपक्षी नेता गादी आइजेनकोट सरकार गठनका लागि विभिन्न दलसँग छलफलमा जुटेका छन् ।

यसैक्रममा आइजेनकोटले डेमोक्र्याट पार्टीका नेता यायर गोलान, बियाचादका प्रमुख नाफ्ताली बेनेट र अर्का विपक्षी नेता यायर लापिडसँग भेटवार्ता गरेका छन्। निर्वाचनपछि उत्पन्न राजनीतिक परिस्थितिमा विपक्षी दलहरूलाई एक ठाउँमा ल्याएर सरकार गठन गर्ने उनको प्रयास रहेको छ। आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको लिकुड पार्टीले निर्वाचन परिणामलाई बदनाम गराउने प्रयास गरिरहेको आरोप लगाएका छन्। नेतन्याहुको पक्षले आवश्यक बहुमत प्राप्त गर्न नसकेका कारण निर्वाचन परिणाममाथि प्रश्न उठाउन खोजेको उनको दाबी छ।

उनले निर्वाचन परिणामअनुसार संसद्को प्रक्रिया अघि बढ्नुपर्ने स्पष्ट पारेका छन्। इजरायलको संसद् नेसेटको शपथ ग्रहण तथा बैठक सञ्चालनमा कुनै अवरोध हुन नदिने उनको भनाइ छ। ‘इजरायलमा कानुनको शासन छ र संसद् निर्धारित समयमै बोलाइनेछ,’ आइजेनकोटले भनेका छन्।

बहुमतका लागि ६१ सिट आवश्यक

अक्टोबर २७ मा सम्पन्न संसदीय निर्वाचनमा आइजेनकोट नेतृत्वको गठबन्धनले ४८ सिट प्राप्त गरेको छ। प्रधानमन्त्री नेतन्याहुको नेतृत्वमा रहेको राजनीतिक खेमाले भने ५३ सिट जितेको छ। इजरायली संसद् नेसेटमा कुल १२० सिट छन्। सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। तर निर्वाचनमा कुनै पनि पक्षले बहुमत हासिल गर्न नसकेपछि सरकार गठनको प्रक्रिया जटिल बनेको छ।

निर्वाचनमा अरब दलहरूले १९ सिट जितेका छन्। यस्तो अवस्थामा सरकार गठनका लागि साना दल तथा अन्य राजनीतिक समूहको समर्थन निर्णायक बन्न सक्ने देखिएको छ। दुवै प्रमुख राजनीतिक खेमाले आवश्यक संख्या पु¥याउन अन्य दलसँग सहकार्य गर्नुपर्ने अवस्था छ।

निर्वाचनमा विदेशी हस्तक्षेपको आशंका

यसैबीच निर्वाचन प्रक्रियामा विदेशी हस्तक्षेप भएको हुन सक्ने आशंकाले इजरायलको राजनीतिक वातावरण थप संवेदनशील बनेको छ। निर्वाचन आयोगले यस विषयमा अनुसन्धान गर्न देशको आन्तरिक सुरक्षा अनुसन्धान निकाय सिन बेटलाई निर्देशन दिएको छ। ‘द टाइम्स अफ इजरायल’का अनुसार सिन बेटले एक साताभित्र अनुसन्धान प्रतिवेदन बुझाउनेछ। अनुसन्धानले निर्वाचनको समयमा कुनै विदेशी शक्ति वा समूहले आर्थिक तथा अन्य माध्यमबाट प्रभाव पार्ने प्रयास गरेको थियो वा थिएन भन्ने विषयमा केन्द्रित रहनेछ।

प्रधानमन्त्री नेतन्याहुको लिकुड पार्टीले कतार र टर्कीबाट इजरायल तथा वेस्ट बैंकमा रकम पठाइएको आशंका व्यक्त गरेको छ। उक्त रकम अरब समुदायका नागरिकलाई आर्थिक सहयोग गर्ने प्रयोजनमा प्रयोग गरिएको हुन सक्ने लिकुड पक्षको दाबी छ।

1

Scroll to Top