नेपाली बजारमा साताभर उकालो लागेको सुनको मूल्यमा शुक्रबार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ। पछिल्लो मूल्य गिरावटसँगै सुनको भाउ पुनः २ लाख ८० हजार रुपैयाँको हाराहारीमा झरेको छ ।
यस साताको सुरुवातमा पनि सुनको मूल्यमा गिरावट आएको थियो। साताको पहिलो दिन सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसपछि भने लगातार पाँच दिनसम्म मूल्यमा वृद्धि हुँदै बिहीबार २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको थियो। महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ, मंगलबार २ लाख ८२ हजार ३०० रुपैयाँ र बुधबार २ लाख ८३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार थप २०० रुपैयाँले बढेपछि मूल्यले साताकै उच्च बिन्दु छोएको थियो। तर, शुक्रबार एकैदिन ३ हजार २०० रुपैयाँको गिरावट आएपछि साताभरको मूल्यवृद्धिमा ब्रेक लागेको छ।
चाँदी पनि तोलामा १०५ रुपैयाँ सस्तियो
सुनसँगै चाँदीको मूल्यमा पनि शुक्रबार गिरावट आएको छ। बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। यसअघि दशैंअघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँसम्म पुगेको थियो। त्यसयता बजारमा मूल्यमा उतारचढाव देखिँदै आएको छ।



