Banijya News

समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति

1
1.0K Shares

प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। काउन्सिलले यस्तो कार्यले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको भन्दै कानुनी प्रक्रियाको पालना गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

शुक्रबार कार्यालय समय सकिएपछि सादा पोसाकमा खटिएका प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति काउन्सिलले चिन्ता व्यक्त गरेको हो।

प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रताको संवैधानिक तथा व्यावसायिक अधिकारमाथि चुनौती थपेको उल्लेख गरेका छन्।

काउन्सिलका अनुसार सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलको हो। त्यसैले समाचारकै विषयलाई लिएर सिधै प्रहरी परिचालन गर्नुभन्दा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न सरकार तथा प्रहरी प्रशासनलाई आग्रह गरिएको छ।

पत्रकार पक्राउ गर्नुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि गरिएको नियन्त्रणको प्रयास आपत्तिजनक भएको काउन्सिलले जनाएको छ।

काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए रिहा गर्न माग गरेको छ।

शुक्रबार नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न प्रहरी टोली पत्रिकाको कार्यालयमै पुगेको थियो।

काउन्सिलले पत्रकारलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ।

1

Scroll to Top